Categories
देश प्रवास मुख्य राजनीति

नेपालमा भाजपा सरकार बनाउने शाहको भनाइले भारतमै खैलाबैला, नेपालीसँग माफी माग्न माग

काठमाडौं। भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले दिएको एउटा अभिव्यक्तिले नेपालमा ठुलो तरंग ल्यायो । देवले हिजो भारतीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा पनि भाजपाको सरकार गठन गर्नुपर्ने बताएको खुलासा गरेका थिए । पार्टीको एक आन्तरिक बैठकमा शाहले त्यस्तो भनेको देवको दावी थियो ।

यससँगै नेपाल र श्रीलंकामा एक किसिमको तरंग आयो । भारतले स्वतन्त्र छिमेकी देशहरुप्रति पनि आफ्नै राज्यको जस्तो व्यवहार गरेको भन्दै आलोचना भयो । यद्यपि अहिलेसम्म नेपालका शीर्ष नेताहरुको तर्फबाट यस विषयमा आधिकारिक धारणा आएको छैन । केही फाट्टफुट्ट विरोधका स्वर सुनिए पनि यसले ठूलो रुप लिइसकेको छैन ।

नेपालमा यस विषयमा धेरै चासो नदिइएका बेला भारतमा भने यो विषयले ठूलो विवाद ल्याएको छ । भारतको केन्द्र सरकारको मुख्य विपक्षी दल कांग्रेस आइसहित कम्युनिष्ट पार्टीहरुले शाहको यो अभिव्यक्तिको चर्को आलोचना गर्दै शाहले नेपाली र श्रीलंकाली जनतासँग माफी माग्नुपर्ने माग उठेको छ । कांग्रेस आइकी नेतृ तथा अल इण्डिया कंग्रेस कमिटीकी प्रवक्त सुप्रिया श्रीनेतले यसलाई ‘डिप्लोमेटिक ब्लण्डर’ भन्दै यस विषयमा नेपालीहरुसँग माफी माग्नुपर्ने बताइन् ।

उता त्रिपुरा कांग्रेसकै उपाध्यक्ष तपस देवले पनि यसको विररोध गरेका छन् । उनले आफूहरुले छिमेकी देशहरुको सम्मान गर्ने बताउँदै ती देशहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुरा स्वीकार्य नहुने बताए । भाजपाको यो शैली अराष्ट्रिय र अप्रजातान्त्रिक भएको उनले बताएको हिन्दूस्तान टाइम्सले जनाएको छ ।

विरोध भएपछि भाजपाले आफूहरुले आफ्नो संस्कृति अन्य देशहरुसम्म फैलाउन चाहेको स्पष्टीकरण दिएको छ । भाजपाका व्रवक्ता नवेन्दु भट्टाचार्यले भने ‘भारतीय संस्कृति र दर्शन भारतबाहिर फैलाउने हाम्रो काम केही दिनअघि नै सुरु भएको हो । हामी फरक देशका जनताको मन जित्नेतर्फ केन्द्रित छौं ।’

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *