बिर्तामोड । कोचिला गाभुर फ्रन्ट नेपाल केन्द्रीय समितिले आज विर्तामोडमा राष्ट्रिय भाक्का दिवसको चौथो संस्करण भव्यरूपले सम्पन्न गरेको छ ।

बिर्तामोडको सिटीसेन्टरमा कोच लोक साँस्कृतिक कार्यक्रमसहित राष्ट्रिय भाक्का दिवसको चौथो संस्करण भव्यताका साथ सम्पन्न भएको हो ।

कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिले २०७४ सालदेखि प्रत्येक वर्ष पुस २९ गतेलाई ‘राष्ट्रिय भाक्का दिवस’ घोषणा गरी कोच लोक साँस्कृतिक कार्यक्रमसहित ‘राष्ट्रिय भाक्का दिवस’ दिवस मनाउँदै आएको समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी गराएका छन् ।

कोच समुदायमा मात्र सीमित रहेको भाक्का खाने चलन पछिल्लो समयमा अन्य जातजातिबीच लोकप्रिय बनेपछि भाक्काको महत्व झन(झन बढ्दै गएको हो ।
कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा पुस २९ गते ‘राष्ट्रिय भाक्का दिवस’ घोषणा गरी मनाउन थालिएको अध्यक्ष राजवंशीले बताए ।

बिर्तामोडको सिटीसेन्टरमा बिहान ८ वजेदेखि भएको चौथो राष्ट्रिय भाक्का दिवसको कार्यक्रममा निःशुल्कमा भाक्कासंगै माछा र टमाटरको चटनी खुवाईएको थियो भने लोक सांस्कृतिक नृत्यमार्फत मनोरञ्जन प्रदान गरिएको थियो ।
कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, नगर र गाउँपालिकाका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिलगायत झापा, मोरङ् र सुनसरीबाट उल्लेख्यरूपमा सर्वसाधारणको सहभागिता थियो । कार्यक्रममा कोच समुदायको लोकप्रिय पहिरन धोती, पेटानी, गर गहना र ऐतिहासिक पुस्तकहरूको प्रदर्शनी गरिएको थियो ।

Facebook Comments