गौरादह । गौरादह नगरपालिकामा कोरोना संक्रमण  रोकथाम र उपचारकालागी भएको खर्चको विवरण पेश भएको छ ।

गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार साहबाट मंगलबार छैठौं सभाबाट पारित वजेटको समिक्षासहित सातौ नगर सभामा आर्थिक वर्ष २०७७/७८ का लागि स्विकृत वार्षिक नीति तथा कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्दै , कोभिड – १९ संक्रमणको रोकथाम र उपचार गर्ने क्रममा हालसम्मको कार्यालयबाट खरिद र भुत्तानी गरिएको पहिलो र दोस्रो चरणको खाद्यान्न सहित प्रकोप व्यावस्थापन कोषबाट खर्च भएको जम्मा १ करोड , ३० लाख ४३ हजार २ सय दस रुपैया बराबरको खर्च अनुमोदनकालागी पेश गरिएको हो ।

हालसम्म कार्यालयबाट ७२ लाख १८ हजार १ सय ७६ रूपैयाँको १,७६३६० केजी चामल, १४ लाख ८६ हजार २ सय २३ रूपैयाँको १३२०९ केजी दाल, १६ लाख ५ हजार ५ सय ९३ रूपैयाँको १०३०० लिटर तेल र १ लाख ९६ हजार ७ सय ८० रूपैयाँको १०२०३ केजी नुन खरिद भएको विवरण प्रस्तुत भएको हो । उत्त विवरणको सम्पुर्ण हिसाब विवरण सबै नगर सभा सदस्यहरूलाई अनुमोदनका उपलब्ध गराएको छ ।

त्यसैगरी गौरादह नगरपालिकाभित्र रहेका क्वारेन्टाइनहरूमा गएको खाद्यान्न विवरण उपलब्ध गराईएको छ । गौरादह नगरपालिकाको स्वास्थ्य चौकी जुरोपानी, प्रगति मावि जुरोपानी, जनता मावि गौरादह, कृषि क्याम्पस गौरादह, स्कुलचौन मावि स्कुलचौन, स्वास्थ चौकी स्कुलचौन, बैगुनधुरा मावि वैगुनधुरा, नमुना खेति होमस्टे स्कुलचौन, सामुदायिक भवन जुरोपानीलगायतका क्वारेन्टाइनमा ५२५० केजी चामल, १४५० केजी दाल, ४८० लिटर तेल र ३३१ केजी नुन वितरण भएको जनाएको छ ।

नगरपालिकाबाट असहाय तथा गरिबका लागि ८७० केजी चामल, ५० केजी दाल र ८ केजी नुन वितरण भएको विवरण भएको जनाईएको छ ।
नगरसभामा प्रकोप व्यवस्थापन कोषबाट भएको खर्च विवरणसमेत उपलब्ध गराएको छ ।
नगरपालिकाले कोरोना भाईरसको संक्रमणको उपचार र रोकथामका लागि प्रकोप व्यवस्थापन कोषबाट ३९ लाख ८१ हजार ४ सय ६२ रूपैयाँ खर्च भएको जनाएको छ ।नगरपालिकाले मास्क र गाउन, पिपिई, सेनिटाईजर, क्वारेन्टाइन र आईसोलेसनमा खाना र नास्ता खर्च, तरकारी फलफुल, क्वारेन्टाइन आईसोलेसनमा भान्से, सुरक्षा गार्ड, हेल्फरको तलब भत्ता, एम्बुलेन्सको ईन्धन खर्च, औषधि, धारा, विजुली, फर्निचर, प्रचार प्रसार, निर्माण र मर्मत सरसफाई र क्वारेन्टाइनहरू र आईसोलेसनमा कपडा लुगाओडने ओछ्याउने शिर्षकमा खर्च गरेको छ ।

नगर प्रमुख साहले वार्षिक नीति तथा कार्यक्रमको समिक्षासहित प्रगति विवरण सुनाउनु अघि नगरपालिका, वडा कार्यालय र स्वास्थ्य चौकी कार्यालय भवनका लागि जग्गादान गर्ने ३५ जना जग्गादातालाई अविर लगाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान  गरेका थिए  । जग्गादाताहरूलाई नगर प्रमुख साह र उपप्रमुख गीता भेटवालले अविरसंगै सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेका हुन् ।

नगरपालिकाकी उपप्रमुख गीता भेट्वालले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले गरेका थिए । माघ ९ गते पुनः बस्ने गरि नगरसभाको पहिलो सत्र सम्पन्न भएको थियो ।

Facebook Comments