Categories
देश राजनीति विचार

लोकतन्त्रको मिठास “बिष” नबनोस् !

रिना भट्ट
लोकतन्त्र जनताको, जनताद्वारा, जनताको लागि गरिने शासन (अब्राहम लिङ्कन) भनिन्छ । जुन कुरा पनि बढि भयो भने त्यो महत्वहिन हुन्छ । चिनी जति गुलियो हुन्छ त्यो पनि धेरै खादा तितो हुन्छ। मानब जीवनमा जब कुनै पनि बस्तु धेरै हुन्छ त्यसको भाउ अवस्य घट्छ। राजनीति पनि त्यस्तै हो। राजनीतिमा चुनाव सबैभन्दा महत्वपूर्ण समारोह हो।
मानौ चुनावमा दुई जना मान्छे जनप्रतिनिधिहरू उम्मेदवारमा उठेका छन्। एक जना कडा किसिमका डाक्टर र अर्को मिठाई उत्पादन गर्ने राम्रो र मिठो बोलि भएका हलवाई। कडा डाक्टरले भन्छ जीवन जिउन धेरै मिठाई नखाउ, शरीर स्वस्थ राख्न सधै व्यायाम गरौँ, नगरेमा मोटो भै सुगर र प्रेसर रोग लाग्छ भन्दै जनतालाई सचेत गराउँछ । तर अर्को उमेद्वार मिठाई हलवाईको मिठो बोलिले तपाईँ हामीलाई सस्तोमा मिठाई खान छुट दिन्छ। शारीरिक व्यायाम आवश्यक छैन भन्दै अर्का उम्मेदवार डक्टरलाई यो डक्टरले मिठाई होइन औषधी खा भन्छ, मिठो नखा भन्छ, म तपाईलाई मिठो खानु भन्छु, व्यायाम नगर्नु भन्छु र आफु खुसी स्वतन्त्र जीवन जीउन भन्छु भन्दै प्रचार गर्छ। यस्तो व्यवस्था मा हाम्रो जस्तो देशमा डक्टर होइन मिठाई पसलेलाई सबैभन्दा बढि जनताले रूचाएर भोट दिदै बहुमतले जिताउँदै लोकतन्त्रको जीत भन्दै सिन्दुर जात्रा गर्छौँ। यसलाई नै हामीले लोकतन्त्रको जित भन्छौँ। हाम्रो देशको लोकतन्त्र पनि यस्तै भै सकेको छ। यहाँ धेरै मिठाई बेच्ने हलवाईले जित हासिल गरेर उपचार गर्ने डाक्टरलाई हराएको चुनाव साक्षी छ किनभने जनता ‘स्वस्थ’ रहन भन्दा ‘स्वच्छन्द’ रहन रूचाउँछन।
एकातर्फ स्वस्थ रहने विकल्प हुन्छ भने अर्को तर्फ स्वच्छन्द रहने विकल्प हुन्छ तर जनताले स्वस्थ भन्दा स्वच्छन्द रहने विकल्प छान्छ । यसबाट नै एउटा यस्तो व्यवस्थाको जन्म हुन्छ जसलाई लोकतन्त्र भनिन्छ। तर जब यो लोकतन्त्र आवश्यक भन्दा बढि लोकतान्त्रिक अथवा मिठो भयो भने ‘राष्ट् लाई नै सुगर रोगी बनाउँछ’ । यो उदाहरण मेरो होइन ग्रीकका महान दार्शनिक सुकरातले यो भनेका हुन्।’लोकतन्त्र’ को कुरा आउँदा यो भनाई अवस्य अगाडि आउँछ । २३०० बर्ष पहिले नै उनी भन्थे मान्छे चिनेर भोट दिनु एउटा कौशलता हो। त्यति कै लहलहैमा लागेर कसैलाई भोट दिनु हुन्न जबसम्म सहि मुद्दा र सहि नेता ‘को’ भन्ने जानकारी हुँदैन तबसम्म भोट दिने अधिकारको प्रयोग गर्नु हुन्न । मनलागि तवरले जहाँ भोटको प्रयोग हुन्छ त्यहाँ लोकतन्त्र मजबुत हुदै हुँदैन। अरूको लहै लहैमा लागेर आँखा चिम्लेर कसैलाई नेता मानेर भोट दिनु हुन्न।

जनताको मुढमा लोकतन्त्रको भविष्य निर्धारण हुने व्यवस्था आज हाम्रो जस्तो देशमा छ। आज हाम्रो जस्तो देशमा सबै पार्टी जनहितका लागि भन्दा पनि चुनाव को लागि ‘चुनावी मेसिन’ बनेर बसेको छ। किनभने उनीहरु चुनाव लडन र चुनाव जित्न मात्र चाहन्छ। कुनै पनि नेताको सफलता उसले कति चोटि चुनाव जितेको र कति भोट प्राप्त गरेकोमा आकलन गरिन्छ। जनताले आज जुन नेतालाई चुनावमा हरायो भोली फेरि उसको कर्तुत बिर्सिएर पुनः चुनावमा जिताउनु नै लोकतान्त्रिक व्यवस्था भै रहेको छ। तर वास्तवमा समझदारी सहित सच्चा मान्छेलाई भोट हाल्नु नै वास्तविक लोकतन्त्र हो। भोट हाल्ने अधिकार भएकाले यो पनि बुझ्न जरुरी छ कि भोटको सहि प्रयोग कहाँ गर्ने ? यदि हामीले यस्तो गरेनौँ र लोकतन्त्रको नाममा गरिने ठूला ठूला भाषणमा बिस्वास गर्दै भोट हाल्यौँ भने त्यहाँ बाटै लोकतन्त्र माथि प्रहार सुरु हुन्छ। मुखको बोलीलाई लोकतन्त्र भनेर नझुक्यौँ।

दार्शनिक सुकरातले देशको तुलना पानी जहाज संग गरेर आफ्ना सिष्यहरूलाई सोध्थे रे ‘तिमी तिम्रो जहाज को संचालन को जिम्मा अनुभवी चालकलाई दिन चाहन्छौ कि जो कोहीलाईर?’ भनेर सोध्दा उनका शिष्यले भन्थे एक अनुभवीलाई अवस्य हामी जहाज चलाउन भन्थ्यौँ। यो कुरालाई नै समाएर सुकरातले तर्क दिन्थे कि त्यसो भए किन तिमी एक अनुभवी शासकलाई देश चलाउने जिम्मेवारी दिन हिचकिचाहट गर्छौ ? आज हामी पनि यसको तुलना नेपाल राष्ट्रसंग गर्दै किन हामी सय, पाँच सय, हजार मान्छेको भिडको कुरा सुन्दै भाषण बाजी गर्ने व्यक्तिलाई देशको जिम्मेवारी दिन चाहन्छौँ ? एक  सक्षम अनुभव व्यक्तिको जिम्मामा राष्ट्र सुम्पौँ न। यस्तो मान्छेलाई जिम्मा दिउँ  जोप्रति हामीलाई पूर्ण रुपमा बिश्वास होस, जसले देशको भबिष्य बनाउन कम्मर सकोस, जसको लागि कडा भन्दा कडा कदम चाल्न साहसिक होस। तसर्थ लोकतन्त्र र प्रजातन्त्र नेतृत्वको हातमा होइन हाम्रो हातमा हुन्छ। जसलाई पहिचान गर्न सक्ने हाम्रो क्षमताले नै हाम्रो भविष्य निर्धारण गर्छ।

व्यवस्था खराब हुदैन खराब हाम्रो आँखा र हाम्रो सोच हो । जसले गर्दा सजिलै सित असक्षम मान्छेले सत्ता कब्जा गर्दै बेतिथि सृजना गर्छ । तसर्थ लोकतन्त्रलाई अति ठूलो सबैकुरा प्राप्त हुने  व्यवस्था पनि नठानौँ र अति नै काम नलाग्ने व्यवस्था पनि नसोचौँ। लोकतान्त्रिक व्यवस्थाप्रति सन्तुष्ट संसारमा कुनै पनि राष्ट्रको जनता छैनन् । लोकतन्त्रलाई अगाडि बढाउन सहयोग गर्ने हामी जनता नै हुन सक्छौँ। बिसौ शताब्दिको सम्म बिश्वमा सिर्फ ११ वटा लोकतान्त्रिक देशहरू थिए। आज पाँच लाख जति आवादी भएको संसारको १६७ देश मध्ये ९६ देशले आफूलाई लोकतान्त्रिक देश भन्दछन्। २१ देशमा आज पनि कुनै न कुनै प्रकारको तानाशाही छ भने २८ देशमा तानाशाही लोकतन्त्र रहेको मिश्रित शासन छ। अमेरिकी सर्बेक्षणले के भन्छ भने सिर्फ २० वटा देशमा पूर्ण एवं उन्नत लोकतन्त्र पाइन्छ भने ५५ वटा देशमा कमी भएको लोकतन्त्र अर्थात् फर्स्ट डेमोक्रेसी “निराश लोकतन्त्र” पाइन्छ। यो लोकतन्त्र भएको देशको सुचीमा विश्वको सबै भन्दा पहिलो लोकतान्त्रिक देश संयुक्त राज्य अमेरिका र विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारत पनि पर्छ। यी दुवै देशका स्थिति निराश जनक भए पनि यहाँ लोकतन्त्र बाँचेकै छ।

लोकतन्त्रको विपरित तानाशाही होइन र तानाशाहीको विपरित लोकतन्त्र पनि होइन। जुन देशमा तानाशाही थियो त्यहाँ जनताले लोकतन्त्र ल्याएको पनि उदाहरण छ भने जुन देशमा लोकतन्त्र छ त्यहाँका शासक तानाशाही भएर शासन गरेको पनि उदाहरण थुप्रै छन्। अर्थात् निचोडमा भन्ने हो भने लोकतन्त्र राजनीतिको महासागर हो । संसारको कुनै पनि देशले सहि रूपमा त्यो महासागरमा भौतारिदै लोकतन्त्रको बाटो तय गर्न सकिरहेको छैन। यो बाटोको तय सिर्फ जनता र सरकारको आपसीसहयोग, सम्बन्ध सहितको अथक प्रयासले मात्र हुन्छ। आज विश्वभर ९६ देश लोकतान्त्रिक छन् ता पनि ती देशका जनता लोकतन्त्रसँग सन्तुष्ट छैनन्। अमेरिका र बेलायत जस्तो देशका ५० प्रतिशत जनता लोकतन्त्रसँग सन्तुष्ट छैनन्। जसको मुख्य कारण लोकतन्त्रको नाममा दिइने स्वच्छन्दताले मानिसलाई बढि आक्रामक, आन्दोलित र बिरोधी बनाएर लोकतन्त्रलाई बढि प्रयोग भएर गुलियोबाट अति गुलियो बनाइ अन्तमा तितो समेत बनाएको देखिएको छ। तसर्थ लोकतन्त्रलाई तितो बन्न नदिन ग्रीकका एकजना राजनेताले भनेका थिए ूलोकतन्त्रको कमजोरीलाई समाप्त पार्ने सबैभन्दा महत्वपूर्ण उपाय १०० प्रतिशत संविधानको पालना गर्नु नै हो। देशको सम्पूर्ण राज्य संचालन सम्बन्धित प्रक्रिया संविधानको पूर्ण पालनाको आधारमा हुने हो भने निरङ्कुशताले कतै टाउको उठाउन सक्दैन र लोकतन्त्र आफ्नो सहि स्वरूपमा सदा रहिरहन्छ। राष्ट्रपति, प्रधानमन्त्री, सभामुख सबैले संविधानको पूर्ण रुपमा पालना गर्ने हो भने लोकतन्त्र कहिल्यै मर्दैनू तर बिडम्बना नेपालमा एकथरीले लोकतन्त्रको मिठासलाईू बिषू मा परिणत गर्न दिलो ज्यानले लागि परेका छन् । २४० बर्ष पुरानो व्यवस्था फालेर प्राप्त भएको लोकतन्त्र आज बढि गुलियो हुँदा हुँदै तितो भै दियो जसको कारण अझ कस्ता कस्ता नियति नेपाल आमाले भोग्नेछिन हेर्न बाकि नै छ। जबसम्म राजनीति दलका युवा वर्ग नेतृत्वको कार्यकर्ता होइन नेतृत्वको पथप्रदर्शक हुँदैनन तबसम्म वृद्ध नेतृत्वले युवा नेतृत्वलाई नेपालको राजनीति सुम्पिदैनन। तसर्थ लोकतन्त्रलाई मिठो नै बनाई राख्ने हो भने प्रत्येक दलभित्रका युवा क्रान्तिकारी हुनै पर्छ। होइन र युवा नेताको भक्त भए भने लोकतन्त्र तितो बन्न बेर हुन्न ।

(नोट : लेखक भट्ट पाटन संयुक्त क्याम्पसमा राजनीति शास्त्र अध्यापन गर्नुहुन्छ)

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *