बीबीसी । २१ डिसेम्बर १९५२। आफ्नो जन्मदिनको अवसरमा जोसेफ स्टालिनले भव्य पार्टी दिएका थिए, जसमा उनका नजिकका मानिसमात्र आमन्त्रित थिए। ग्रामोफोनमा घरी स्थानीय संगीत त घरी डान्स गर्ने गीत बजिरहेको थियो। डिस्क चयन स्टालिन आफैं गरिरहेका थिए।

पार्टीका दुईजना पाहुनालाई भने त्यो माहोल मन परिरहेको थिएन। त्यसमध्ये एक थिए– निकिता ख्रुस्चेब, जसलाई डान्स गर्न मन पर्दैनथ्यो। ख्रुस्चेबलाई चिढ्याउन स्टालिनले युक्रेनको गोपाक डान्स गर्न आग्रह गरे। स्टालिन आफैं पनि डान्सका विज्ञ थिएनन्। त्यसैले अरुलाई डान्स गर्न लगाउँदा उनलाई मजा आउँथ्यो। जो नाच्न जान्दैन, उसैलाई नाच्न लगाउँथे ।

दोस्रो  जसलाई त्यो साँझको महफिल मन परिरहेको थिएन, उनी थिइन् स्टालिनकी छोरी स्वेतलाना अलिलुएवा। उनी २६ वर्षकी थिइन्। त्यतिबेलासम्म उनको दुईपटक सम्बन्धविच्छेद भइसकेको थियो। स्वेतलानालाई कसैको ‘हुकुम’ सह्य हुँदैनथ्यो।

स्टालिनले आफ्नी छोरीसँग डान्स गर्ने इच्छा राखे तर उनले ठाडै अस्वीकार गरिदिइन्। स्टालिनलाई पनि छोरीको त्यो अस्वीकार्यता मन परेन। उनले छोरीको कपाल समाते र तानेर अगाडि ल्याए। यो अपमानले स्वेतलानाको अनुहार रातो भयो र आँखाबाट आँसु झर्न थाले।

निकिता ख्रुस्चेब आफ्नो आत्मकथा ‘ख्रुस्चेब रिबेम्बर्स’ मा लेख्छन्– स्टालिनले स्वेतलानामाथि त्योभन्दा बढी ‘पाशविक’ व्यवहार देखाएनन्। वास्तवमा छोरीलाई स्नेह देखाउने स्टालिनको त्यो आफ्नै एउटा स्टाइल थियो। तर अरुले देख्दा बाबुले छोरीमाथि निकै ज्यादती गरेको देखिन्थ्यो। स्टालिन अक्सर यस्तो हर्कत गरिरहन्थे।

दुई महिनापछि २८ फेब्रुअरीमा स्टालिनले आफ्नै स्टाइलमा आफ्ना चारजना वरिष्ठ सहयोगीलाई फिल्म हेर्न बोलाए। फिल्मपछि सबैका लागि राम्रो खाना र मदिरा पस्किइयो।

पार्टीमा सबै रमाइरहेका थिए। स्टालिन पनि रमाएकै देखिन्थे । सहभागी कसैलाई महसुस भएन कि स्टालिनको स्वास्थ्य खराब भइरहेको छ। पार्टी भोलिपल्ट बिहान (१ मार्च) को बिहान चार बजेमात्र सकियो।

ख्रुस्चेब लेख्छन्– हामी सबैले स्टालिनलाई फूर्तिलो नै छोडेर आएका थियौं। उनी हामीसँग हँसीमजाक गरिरहेका थिए। जानीजानी युक्रेनी लवजमा मेरो पेटतिर औंला देखाउँदै मलाई उडाइरहेका थिए।

पार्टी सकिएपछि स्टालिनले आफ्ना अंगरक्षकहरुलाई सुत्न जान निर्देशन दिए।  ‘नबोलाएसम्म कोही मेरो कोठामा नआउनू’ भनेर उनी सुत्न गए।

स्टालिनका जीवनीकार रोबर्ट सर्विस लेख्छन्– एक मार्च दिनभर स्टालिनको कोठाबाट कुनै आवाज आएन। त्यहाँ हरेक अंगरक्षकको दुई घण्टाको सिफ्ट हुने गर्थ्यो। त्यसपछि अंगरक्षक दुई घण्टा आराम गर्थे र फेरि अर्को सिफ्टमा जान्थे। सुरक्षाकर्मी चनाखो भइरहून् भनेर स्टालिनले त्यसो गर्ने आदेश दिएका थिए।

बिहान उठेपछि स्टालिन कागतीको टुक्रा र एक कप चिया मगाउँथे। तर त्यो दिन स्टालिनले चिया र कागती नमगाएपछि अंगरक्षक चिन्तित बनेका थिए। साँझ साढे ६ बजेसम्म पनि स्टालिन आफ्नो कोठाबाट बाहिर निस्केनन्। उनले न कुनै खानेकुरा मगाए न केही गर्ने आदेश नै दिए।

राति १० बजे मस्कोस्थित पार्टीको केन्द्रीय कमिटी कार्यालयबाट स्टालिनका लागि एउटा प्याकेट आयो। अंगरक्षकहरुले आपसमा सल्लाह गरे र पावेललाई प्याकेट लिएर स्टालिनको शयनकक्षमा पठाउने निर्णय गरे।

जब पावेल शयन कक्षमा छिरे, उनी स्तब्ध भए। स्टालिन जमिनमा ढलेका थिए। उनको एउटा हात थोरै माथि उठेको थियो । उनी पूरै बेहोस थिएनन् तर केही बोल्न सकिरहेका थिएनन् । उनले पाइजामामा पिसाब गरेका थिए।

नजिकै अखबार र पानीको बोतल थियो। बत्ती बाल्न खोज्दा स्टालिन ढलेको र उठ्न नसकेको अनुमान अंगरक्षकले गरे।

यति हुँदा पनि तुरुन्त डाक्टर बोलाउनुपर्छ भन्ने कसैलाई लागेन। अंगरक्षकले गृहमन्त्री सरजइ इग्नातिएवलाई फोन गरे मस्कोमा। गृहमन्त्रीले मेलेनकोव र बेरियालाई खबर गरे। बेरिया त्यतिबेला एक महिला मित्रको साथमा रात बिताइरहेका थिए। बेरियाले आदेश दिए– स्टालिनको अवस्थाबारे कसैलाई केही नबताउनू।

अंगरक्षकले स्टालिनलाई भुइँबाट उठाएर ओछ्यानमा राखे  र कम्बल ओढाइदिए। त्यसपछि ुमाथिको आदेशु पर्खेर बसिरहे।

बेरिया र मेलेनकोव आइपुग्दा स्टालिनको मुखबाट घुरेको जस्तो आवाज आइरहेको थियो। बेरियाले डाक्टर बोलाउनुको साटोे अंगरक्षकलाई हकार्दै भने– तिमीहरु देख्दैनौ, कमरेड स्टालिन गहिरो निद्रामा हुनुहुन्छ१ तिमीहरु बाहिर जाओ, कमरेडलाई आरामले सुत्न दिऊँ।

दुई मार्चको बिहानसम्म पार्टीका सबैजसो नेता स्टालिनलाई हेर्न पुगिसकेका थिए। तर कसैले पनि डाक्टर बोलाउन जरुरी ठानेनन्।

स्टालिनकी छोरी स्वेतलानालाई बिहान १० बजेमात्र यसको सूचना पुग्यो। उनी फ्रेन्च भाषाको क्लासमा थिइन्।

रोबर्ट सर्विस लेख्छन्– यसबाट पनि थाहा हुन्छ, स्टालिनको अवस्था जानीबुझी खराब हुन दिइयो ।

डाक्टर पुग्दा स्टालिन ढलेको १२ घण्टाभन्दा बढी भइसकेको थियो। स्टालिन आफ्नै दिसापिसाबमा डुबिसकेका थिए। स्टालिनले रगत बान्ता गरेपछि डाक्टरले फोक्सोको एक्सरे गरे। स्थिति कति गम्भीर छ भन्ने डाक्टरले अनुमान गरिहाले।

स्टालिन तीन दिनसम्म उस्तै मूर्छित अवस्थामा लडिरहँदा पनि डाक्टरले केही उपचार गरेनन्। पार्टीका दुई नेताले पलङको छेउमा स्टालिनलाई रुँगिरहे।

३ तारिखमा डाक्टरले चेतावनी दिए– स्टालिनको हालत एकदमै खराब छ, जुनसुकै बेला जेसुकै हुनसक्छ।

डाक्टरहरुले खराब समाचारका लागि तयार रहन भनेपछि ४ मार्चमा पार्टीका नेताहरुको बैठक बस्यो। बेरियाले मेलेनकोवलाई स्टालिनको स्थान लिन प्रस्ताव गरे। यसमै सहमति भयो र बैठक सकियो। यद्यपि, स्टालिन मरिसकेका थिएनन्।

बैठकपछि नेताहरु स्टालिन ढलेको ठाउँमा पुगे, जहाँ उनी अन्तिम सास लिइरहेका थिए। स्टालिन पलङबाट तल टाउको लतारेर बल्लतल्ल सास फेरिरहेका थिए।

५ मार्चमा फेरि स्टालिनले रगत बान्ता गरे। यसबीचमा सबैको आशा बेरियामा थियो, जो स्टालिनको हात समातेर उनी नै स्टालिनको सबैभन्दा नजिक रहेको आभाष दिलाइरहेका थिए।

स्टालिनको अनुहार अर्कै भएको थियो। ओठ काला भएका थिए र अनुहार चिन्नै नसकिने भएको थियो।

आखिरी क्षणमा उनले पलभरका लागि आँखा खोले र कोठामा रहेका सबैमा नजर दौडाए। आफ्नो हात उठाए। मानौं, उनी कसैलाई केही इशारा गर्दै छन् वा श्राप दिन खोज्दै छन्।

लगत्तै उनको प्राणपखेरु उड्यो। त्यतिबेला बिहान ९ बजेर ५० मिनेट गएको थियो।

सबै नेताहरु एकअर्कालाई अंगालो मारेर रुन थाले। ख्रुस्चेबले पनि छोरी स्वेतलानालाई अंगालो मारेर संवेदना प्रकट गरे। सबै नोकर तथा अंगरक्षकहरुलाई स्टालिनको अन्तिम दर्शन गर्न अनुमति दिइयो।

दुई दशकसम्म रुसमा स्टालिनलाई महानतम जीवित व्यक्ति मानिएको थियो।

९ मार्च १९५३ मा स्टालिनको अन्तिम संस्कार गरियो। चीनका प्रधानमन्त्री चाउ एन लाई पनि शवयात्रामा सहभागी हुन मस्को पुगे। स्टालिनका पुराना प्रतिद्वन्द्वी विन्स्टन चर्चिल तथा अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यानले पनि शोक सन्देश पठाए।

कम्युनिस्ट देशका मिडियाले एक स्वरमा लेखे– इतिहासको सबैभन्दा अग्ला पुरुष रहेनन्।

पश्चिमी मिडियाको मिश्रित प्रतिक्रिया थियो। उनीहरुले स्टालिनले गरेका मानवता विरोधी अपराधलाई पनि याद गर्दै सोभियत संघको आर्थिक कायापलट र हिटलरविरुद्ध सोभियत रुसको जितको श्रेय पनि दिए ।

रेहान फजल (बीबीसी)

Facebook Comments