काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आज बिहान आएको मत परिणामअनुसार वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल बिजयी हुनुभयो । बरिष्ठ उपाध्यक्षमा जीतसँगै अब उहाले शेखर गोल्छापछि महासंघको नेतृत्व गर्ने पक्का हुनुभएको छ ।

बागलुङ जिल्लाको अमलाचौर गाउँ विकास समिति वडा नं ४, कुंडहरमा बुवा स्व. हिरण्य ढकाल र आमा जानुकादेवी ढकालको कोखबाट जन्मनु भएका ढकालको सफलताको यो उचाइसम्म आइपुग्न उहाँले गरे संघर्षहरु के हुन त ? उहाको जीवन कथा थाहा पाउन विगतमै फर्किनुपर्छ । बाग्लुङको एक विकट गाउँका एक किशोर चन्द्र एसएसली दिइरहेकै बेला बुवाको मायासँगै सुखद् भविष्यको आडभरोसा समेतलाई कालीगण्डकीमा सेलाउन विवश पात्र हुनुहुन्छ।

घाटबाट घर फर्कंदै चन्द्रको मनमा एकमात्र कुरा खेलेको थियो–आमा र भाइबहिनीलाई जस्तोसुकै मूल्यमा दुःखबाट टाढा राख्ने , त्यसरी १६ वर्षको उमेरमा खुसीमाथि ग्रहण लागेका चन्द्रले आमा र भाइबहिनीप्रतिको त्यो प्रतिवद्वताकै बलमा जिन्दगीमा पूर्णमास ल्याउनुभएको छ ।

आफूलाई नेपालका सफलतम् व्यावसायीहरुको सूचीमा पार्न सफल उहाँ मेहनत र आँटको बलमा यो मुकाममा आइपुग्नु भएको छ । । ‘जिन्दगीमा सोचेजस्तो केही हुँदैन’, ढकाल भन्नुहुन्छ, ‘तर योजनावद्व सोच, मेहनत र आँटको सम्मिश्रण भयो भनेचाहिँ नसोचिएको सफलता पनि हात लाग्दोरहेछ ।’

काठमाडौं पानीपोखरीस्थित भव्य कार्यालयमा ब्यस्त दैनिकी गुजारिरहेका ढकालले जिन्दगीमा योजनावद्व सोच र आँटका साथ अविश्राम मिहेनत गरे । अधिकांश नेपाली घरपरिवारसँग जोडिएको रेमिट्यान्ससँग पनि उहाको मिहेनतको थोरै साइनो छ । उहाको रेमिट्यान्स कम्पनी आईएमईसँग अपरिचित नेपाली कमै होलान् ।

आईएमई ग्रुपका संस्थापक रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासंघमा सदस्य,उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष बन्नुभएको छ, अब अर्को पाली अध्यक्ष बन्ने सुनिश्चित भएको छ । ढकाल चन्द्रगीरि हिल्स लिमिटेड लगायतका कम्पनीहरु चलाउँदै देशको उद्योग–वाणिज्य क्षेत्रलाई सहजीकरण गर्ने नीतिगत व्यवस्थाको लागि लबिङ पनि गर्दै आउनुभएका ढकालको व्यावसायिक सफलताको यो उचाईमा उहा अमलाचौरको धरातल भने कहिल्यै भुल्नुहुन्दै । उहाँ भन्नुहुन्छ , ‘मेरा हर सफलताको आधारशीला त्यही अमलाचौर हो ।’

आफ्नाको खुसीका लागि हिँडेका पात्र

निम्न मध्यमवर्गीय परिवारमा जन्मिएका चन्द्र ढकालको बाल्यकाल आम गाउँले बालबालिकाको जस्तै रह्यो । दैनिक धुलो–हिलो, दाउरा–घाँस, मेलापात जीविकोपार्जनको माध्यम थियो । त्यस्तो परिस्थितिमा घरपरिवारको मुल खाँबो टुटेपछि १६ वर्षका जेठो छोराले कलिलो काँध थाप्नुपर्ने भयो ।

त्यो बेला ढकालमा कर्तव्य पुरा गर्ने अठोटबाहेक अरु केही गर्न सक्ने अवस्था थिएन । उहा त्यो विकल्परहित दायित्व पुरा गर्ने कोसिसमा लाग्नुभयो। बुबाको असामयिक निधनपछि पारिवारिक दायित्वको भारीले थिचिन पुगेका उनी एसएलसी परीक्षामा अनुत्तीर्ण भए । त्यसमा धेरै चिन्तित नभई र नहड्बडाई लगनका साथ आफ्नो कर्ममा लाग्नुभयो । त्यसबेला एकमात्र ध्याउन्न थियो–आमा र भाइवहिनीलाई अभावबाट टाढा राख्नू ।

उहाको त्यो मेहनेत आज राष्ट्रिय समृद्धिका अनेकन प्रयासहरुमा जोडिन आइपुगेको छ । पारिवारिक आर्थिक अवस्था मजबुत भएको भए स्मृतिका पाना पल्टाउँदा सायद ढकालको बाल्यकालमा डोको, नाम्लोको सन्दर्भ हुँदैनथ्यो होला । एसएलसी परीक्षा नजिकिँदै गएको बेला त्यही बीचमा बुवाको मृत्यु भयो । बुवाको मृत्युले पढाईमा प्रत्यक्ष असर गर्यो । एसएलसीको नतिजा आउँदा अंग्रेजी विषय लागेको थियो उहालाई । दोस्रोपटकको एसएलसीमा भने अंग्रेजी विषय कटउानुभयो । त्यसपछि उच्च शिक्षाका लागि काठमाडौँ आउनुभयो ।

‘म यहाँ आइपुग्न हिँडेको थिइनँ । त्यतिबेला मेरा भाइबहिनीलाई कसरी पढाउने, समस्याबाट कसरी जोगाउने भन्नेमा केन्द्रित थिएँ,’ ढकाल सम्झनु हुन्छ , ‘मेरो जम्माजम्मी एउटै ध्येय थियो– आमा र भाइबहिनीको खुसी । त्यसैका लागि काठमाडौंतिर हान्निएको थिएँ ।’

बैंकको जागिर छाडेर व्यवसायमा

काठमाडौंमा कमाईका लागि कामसँगै पढाइलाई अगाडि बढाउन खोज्दा कठिनाईहरु कम थिएनन् । ती उद्देश्यका साथ काठमाडौंमा टिकिखान गर्नुपर्ने एउटै कुरा थियो– मेहनत अनि मेहनत ।

ढकालले पेप्सीकोला वितरक कम्पनी स्वस्तिक हेरिटेजमा जागिरे जीवन सुरु गर्नुभयो । घरमा खर्च पठाउँदै पढाई अगाडि बढाउनुभयो । हातमा सर्टिफिकेट परेपछि राष्ट्रिय वाणिज्य बैंकको सहायक लेखापालमा नाम निकाल्नुभयो र वाणिज्य बैंकमा करिब चारवर्ष काम गरेपछि व्यवसाय पनि थाल्ने आँट गर्नुभयो ।२०४८ तिर कोल्ड स्टोर चलाए, त्यसपछि कार्गो व्यवसाय सुरु गर्नुभयो । त्यतिबेलासम्म भाइ रामुलाई पनि काठमाडौं बोलाइसक्नु भएको थियो । व्यवसाय विस्तारको क्रममा १२–१३ लाख रुपैयाँ आवश्यक परेपछि ढकालले आफू कार्यरत बैंकमै ऋणको लागि आवेदन दिनुभयो । बैंकको नीति सकारात्मक भए पनि अन्तिम समयमा हाकिमले नदिने भए, जागिर खाइरहेकालाई यस्तो ऋण दिन नसक्ने भन्दै ।

ती हाकिमकै अगाडि राजीनामा लेखेर बैंक ऋण लिनु भएका ढकाल आज ग्लोबल आईएमई बैंकका अध्यक्ष हुनुहन्छ । आज त्यो क्षण सम्झँदा उहालाई सही निर्णय गरेको लाग्छ । ‘त्यो बेला त्यो निर्णय मेरा लागि जोखिमले भरिभराउ थियो’, उहाँ भन्नुहुन्छ , ‘तर मलाई त्यसै दिन र त्यही क्षणमा पनि गलत निर्णय लिएँ भन्ने लागेको थिएन ।’

दशैं आसपास शुक्रबारको दिन थियो । विदाअघि नै कार्गो ‘सिपमेन्ट क्लियर’ गरिसक्नुपर्ने भएकाले चन्द्र र रामु ढकाल दाजुभाइ मोटरसाइकलमा एयरपोर्टतिर लागे । बागमती तरेर सञ्चारग्राम पुग्नै लाग्दा सडक ढाकेका च्याङ्ग्राको हुलमा मोटरसाइकल जोतियो ।

दाजुभाइलाई दुवैलाई रगतपक्ष हुने गरी चोट लाग्यो । तर उनीहरु हतार–हतार बाइक उठाएर अस्पताल होइन, एयरपोर्टतिरै हान्निए । कार्यालय समयअघि नै कार्गोको काम सकेर मात्र अस्पताल पुगे । चन्द्र ढकाल सम्झनुहुन्छ ‘त्यसपछिको २० दिन अस्पताल र घरमा बिताउनुुपर्‍यो ।’

तर यो घटनाले पनि ढकाल दाजुभाइले सफलताको शिखर कसरी आरोहण गरे भन्ने देखाउँछ ।

विदेशमा श्रमिकसम्म

ढकालका जिन्दगीमा अनेक मोड आए । विदेशमा श्रम बेच्ने नेपालीकाहरुको रेमिट्यान्स भित्र्याउने एउटा प्रमुख कम्पनी आईएमईका सञ्चालक ढकाल आफैं पनि कुनै समय वैदेशिक रोजगारीमा हुनुहुन्थेन

उहाले कार्गो व्यवसायमा सफलता हात पार्दै गर्दा अमेरिकामा नेपाली गलैंचा र तयारी कपडाको बजार निकै राम्रो थियो । उनी कार्गो व्यवसाय विस्तारका लागि अमेरिका जान चाहान थियो, भिसा पनि पाउनुभयो । एकजना गाउँले दाइले जापानको बाटो भएर अमेरिका जान भनेपछि उहाले भिसा आवेदन दिएर जापान जाने तारतम्य मिलाउनुभयो । उहाले ‘१० महिना जापानको एउटा छापाखानामा काम समेत गरेको सम्झनुहुन्छ ।’

त्यतिबेला जापानको रोजगारीलाई निकै राम्रो मानिन्थ्यो । १० महिनामा केही पैसा कमाए पनि । नेपालको काम भाइले हेर्दै थिए । त्यसबेला ढकाल दाजुभाइले ठमेलमा ‘इन्टरनेसनल मनी एक्सचेन्ज’ खोलिसक्नु् भएको थियो । अब रामु जापान जाने भए, चन्द्र अमेरिका नगई नेपाल फर्किनुभयो ।

त्यतिबेला नेपालीहरुले विदेशमा कमाएको पैसा पठाउने भरपर्दो औपचारिक माध्यम थिएन । हुण्डीबाट पैसा पठाउँदा ठगिनेको संख्या बढिरहेको थियो । चन्द्रलाई जापान बस्दा नै यसको समाधान खोज्नुपर्छ भन्ने लागेको थियो ।

आईएमईको सफलता

सन् २००१ मा नेपालले वैदेशिक रोजगारीका लागि मलेसिया खुला गरेपछि एकै वर्षमा धेरै नेपाली त्यहाँ पुगे । त्यसपछि मलेसियामा पनि हुण्डीकै कारण कामदार ठगिने घटनाह बढ्न थाल्यो । अनौपचारिक माध्यमबाट रकम आउने क्रम बढेसँगै नेपाल राष्ट्र बैंक पनि चिन्तामा थियो ।

ढकालले यो समस्यालाई अवसरमा बदल्ने चाँजो मिलाए, त्यही साल । उहासँग करिब एक वर्ष मनी ट्रान्सफर कम्पनी ‘एक्सप्रेस’को एजेन्ट बनेको अनुभव थियो । एक्सप्रेस ‘यूएई एक्सचेन्ज’को वितरक कम्पनी थियो । उाहले त्यही अनुभवका आधारमा ‘इन्टरनेशनल मनी एक्सप्रेस’ (आईएमई) खोल्ने प्रस्ताव राष्ट्र बैंकमा लग्नुभयो । डा. तिलक रावल गभर्नर रहेको राष्ट्र बैंकले उहाको प्रस्ताव सहजै स्वीकार गर्‍यो र ‘आईएमई’लाई सञ्चालन अनुमति दियो ।

‘मलेसियाको केन्द्रीय बैंकबाट पनि स्वीकृति लिएर मलेसियाको ४–५ ठाउँबाट सेवा सुरु गर्‍यौं’, ढकाल भन्नुहुन्छ , ‘नेपालमा काठमाडौं, पोखरा लगायतका मुख्य शहरमा २४ घण्टाभित्र रकम बुझ्ने व्यवस्था गरेका थियौं ।’

विदेशमा रहेका नेपालीहरुलाई आईएमईबारे बुझाउन निकै मेहनत परेको उहा बताउँनुहुन्छ । सेवाको गुणस्तरले बिस्तारै कम्पनीको ‘ब्रान्डिङ’ गर्‍यो । विदेश जाने नेपालीको संख्यासँगै आईएमईको सेवा र विश्वसनीयता विस्तार भएको उहाले बताउनुभयो । ‘मलेसिया सरकारले आईएमईलाई यति विश्वास गर्‍यो कि नेपाल पैसा पठाउन पाँच वर्षसम्म अरु कम्पनीलाई लाइसेन्स नै दिएन’, ढकालले बताउनुभयो , ‘त्यो कारण पनि मलेसियामा व्यवसाय फैलाउन कम्पनीलाई कर लाग्यो ।’

अहिले आईएमई नेपाली कामदार पुगेका सबै देशमा रेमिट्यान्स कारोबार गर्ने कम्पनी बनेको छ । आईएमई नेपालमा ‘मनी ट्रान्सफर’को पर्यायबाची नै बनेको कुनै बैंक या अन्य मनी ट्रान्सफर कम्पनी पुगेका सेवाग्राहीले ‘पैसा आईएमई गरिदिनुस्’ भन्ने गरेको अवस्थाले देखाउँछ । नयाँ मनी ट्रान्सफरको अनुमतिपत्र माग्न राष्ट्र बैंक पुग्नेले समेत ‘आईएमईको लाइसेन्स पाउँ’ भन्ने अवस्था बनेको ढकाल बताउनुहुन्छ । यसरी ढकाल दाजुभाईको अगुवाईमा नेपालमा मनी ट्रान्सफर विश्वासिलो व्यवसाय त बन्यो नै अनौपचारिक च्यानलबाट रकम भित्रिने क्रम पनि लगभग बन्दको अवस्थामा पुगेको छ । आईएमईले मलेसियामा करिब ५० हजार रुपैयाँबाट कारोबार सुरु गरेको थियो । अहिले नेपाल भित्रिने वार्षिक दुई खर्ब बढी रेमिट्यान्समध्ये २५ देखि ३० प्रतिशत आईएमईबाट आउँछ ।

नयाँ योजना र जिम्मेवारी

आईएमईको सफलतापछि चन्द्र ढकालले फाइनान्स कम्पनीमा पनि सुरु गर्नुभएको छ । त्यसको सीमितता बुझेपछि वाणिज्य बैंकसँग मर्ज गराए ।

हाल उहा अध्यक्ष रहेका ग्लोबल आईएमई देशकै धेरै चुक्ता पुँजी भएको र राज्यको नीतिलाई छिटो कार्यान्वयनमा लैजाने बैंकको रुपमा चिनिन्छ । सहजै चुक्ता पुँजी आठ अर्ब पुर्‍याएको यो बैंकले जनता बैंकसँग बिग मर्जर गरेको छ ।

ढकाल समूह (चन्द्रका काकाहरु समेत) को लगानी पर्यटन, ऊर्जा, अटोमोबाइल्स लगायतका क्षेत्रमा पनि छ । ढकालकै नेतृत्वमा चन्द्रागिरीमा केवलकार बन्यो । पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका डाँडाकाँडालाई उपयोग गर्न सकिन्छ भन्ने सन्देश यो परियोजनाले दिएको ढकाल बताउनुहुन्छ । अन्यत्र पनि यस्तै परियोजनामा लगानी बढाउदै हुनुहुन् छ।

‘फूलप्रुफ’ योजनाका साथ काम गर्दै जाँदा आत्मविश्वास पनि बढ्ने ढकालको अनुभव छ । ‘हामी विश्वका दुई ठूला बजार भारत र चीनको बीचमा छौं’, भावी योजना सुनाउँदै उहा भन्नुहुन्छ , ‘अब हामी उत्पादनमुलक उद्योग क्षेत्रमा लगानी बिस्तार गर्ने योजनामा छौं ।’

अब उहाको काँधमा निजी क्षेत्रको नेतृत्व गर्ने जिम्मेवारी अझै बढेको छ । ‘अब महासंघ एक ढिक्का भएर निजी क्षेत्रको समस्या समाधानमा अघि बढ्छ,’ ढकाल भन्नुहुन्छ । जनता टाईम्सबाट

Facebook Comments