काठमाडौं। उत्तरी छिमेकी मुलुक चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आउँदै छन् । परराष्ट्र मन्त्रालयले उनी आइतबार काठमाडौँ आउने कार्यक्रम तय भएको जनाएको छ।

एक्काइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आइतबार काठमाडौँ आइपुग्ने चिनियाँ रक्षामन्त्रीले ८ घण्टा काठमाडौँ बसाईमा राष्ट्रपति विद्यादेवी भण्डारी, रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयले नेता वेइको यो भ्रमणई ‘कार्यगत’ भ्रमण भने पनि यसलाई सद्भावना भ्रमण भन्न सकिन्छ ।

उनी आइतबार साँझ नै स्वदेश फर्किने जानकारी दिइएको छ। नेपालको उत्तरी छिमेकी चीनबाट यस वर्ष हुन लागेको यो पहिलो उच्च स्तरीय भ्रमण हो ।

Facebook Comments