गाैरादह । झापा गौरादह ८ का एक कोरोना संक्रमित बृद्धको आज बिहान मृत्यु भएको छ ।

मृत्यु हुने गौरादह नगरपालिका ८ का ७२ वर्षिय शेषलाल राजवंशीको बिहान ९ बजेतिर नोवेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो आएपछि उनलाई मंसिर ३ गते विराटनगर लगिएको थियो ।
ती बृद्धको हिजो (बिहिवार)पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । मृतकको शवलाई विराटनगरबाट ल्याएर गौरादह ८ स्थित गेउरिया खोलामा अन्त्येष्टि गरिएको नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले बताउनुभयो ।

गौरादहकै अर्का बृद्धको पनि हिजो बेलुका नोवेल हस्पिटलमा मृत्यु भएको छ । कोरोनासँग लक्षण मिल्ने गौरादह ७ का ७५ वर्षिय बृद्धको मृत्यु भएको हो । मृत्यु हुनुभन्दा अगाडि उनको पिसिआर परीक्षण गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको र लाशलाई हस्पिटलमै राखिएको श्रेष्ठले बताए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या गौरादहमा ११ पुगेको छ ।

Facebook Comments