गौरादह , ९ कार्तिक / कोरोना भाईरस संक्रमणका कारण भएको लकडाउनले देशको सबै क्षेत्रलाई प्रभाव पार्यो । त्यसको चपेटामा निजी स्तरबाट संचालित संस्थागत विद्यालयहरु र त्यसमा कार्यरत शिक्षकहरु पनि परे । निजि विद्यालयहरु लकडाउनमा बन्द हुँदा त्यसमा कार्यारत शिक्षक , कर्मचारी कसैलाई पनि निजि बिद्यालय संचालकले तलव दिईएन ।

आफ्नो जिवनको उर्जाशिल समय  निजी बिद्यालयलाई दिएर त्यसलाई फलाउन, फुलाउन महत्वपुर्ण भुमिका खेलेका शिक्षकहरु चाडवाडको समयमा  विद्यालय संचालकहरुबाट उपेक्षाको सिकार हुनुपर्यो । निजी बिद्यालय संचालकहरुबाट आफैंले गरेको सहमति तोडेर शिक्षकहरुको चाडवाड बापत पाउने खर्च समेत खोसियो ।

यो नेपाल भरिको संस्थागत विद्यालय र त्यसमा कार्यरत शिक्षक कर्मचारीहरुले अहिले भोग्नुपरेको समस्या हो ।त्यसबाट झापाको गौरादहमा संचालित संस्थागत बिद्यालय र त्यसमा कार्यारत शिक्षक कर्मचारीहरु समेत अछुतो हुन सकेनन । गौरादहमा संचालित ३२ वटा निजी विद्यालयहरुले संस्थागत विद्यालय संचालक र त्यसमा कार्यारत शिक्षकहरुको संगठनले गरेको सहमति कार्यान्वयन गरेनन । चाडवाडको समयमा १ महिनाको तलव र १ महिना बराबरको पर्व खर्च समेत विद्यालय संचालकहरुले नदिएपछि गौरादहको माउण्ट एभरेष्ट अंग्रेजी माध्यामिक विद्यालयमा शिक्षक , कर्मचारीहरुले तालाबन्दीनै गर्नुपर्यो ।

चाडवाडमा विद्यालय संचालकहरुबाट पर्व खर्च वापत ‘उपेक्षा’ पाएका शिक्षकहरुलाई त्यसै विद्यालयमा पढेर बिश्वका विभिन्न देशहरुमा पुगेका पुर्व बिद्यार्थीहरुले दिएको उपहारले भने जिवनकै सबैभन्दा ठुलो खुसि दिएको अनुभव शिक्षकहरुको छ ।

गौरादहको माउण्ट एभरेष्ट माविका पुर्व विद्यार्थिहरुले आफुलाई पढाउने शिक्षकहरुको चाडवाड खल्लो नहोस भनेर दशैंमा खसी उपहार दिएका छन । बिश्वका विभिन्न देशमा अध्यान र कामको शिलशिलामा रहेका २० जना पुर्व विद्यार्थीहरु मिलेर यहाँ कार्यारत शिक्षकहरुलाई ७ वटा खसी उपहार पठाएका छन । सो उपहार वितरण कार्यक्रमको संयोजन पुर्व विद्यार्थीहरु समिर बस्नेत र सुश्मा बस्नेतले गर्नुभएको थियो । सो उपहार शिक्षकहरुलाई शनिवार अस्टमीको दिन हस्तान्तरण गरिएको थियो ।

खसी उपहार बुझ्दै विद्यालयका पुराना शिक्षक तथा संस्थागत विद्यालय शिक्षक संगठन ईस्टु प्रदेश १ अध्यक्ष यादव अधिकारीले गौरवान्वित महसुस भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘आज हामी अत्यान्तै खुसि छौ , हाम्रो मालिकले हाम्रो तलव खोस्न सक्लान तर हाम्रो सम्मान खोस्न सक्दैनन भन्ने सन्देश गएको छ ।’ उहाँले यस कार्यकोलागी पुर्व बिद्यार्थीहरुलाई विद्यालयका शिक्षक र कर्मचारीहरुको तर्फबाट धन्यवाद समेत दिनुभयो ।

Facebook Comments