गौरादह , ८ कार्तिक / शनिबार गौरादहका एक ३६ बर्षिया युवाको मृत्यु हुनुका साथै २ जना वडा अध्यक्ष र २ सर्वसाधारणको रिपोर्ट पोजेटिभ देखिएको छ ।

मृत्युहुने गौरादह ६ बिरवल चौकका युवा रहेको नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । मृतकलाई ३/४ दिन अगाडिनै टाईफाईटको उपचारकोलागी बिराटनगरको अस्पतालमा लगिएको थियो । उनको आज मृत्यु भएको र मृत्यु पश्चात् मात्र गौरादह स्वास्थ्य शाखालाई जानकारी आएको श्रेष्ठले बताउनुभयो । उहाँको दाहसंस्कार नेपाली सेनाले कन्काई घाटमा गरेको छ ।

त्यस्तै नगर स्वास्थ्य शाखाका अनुसार शनिवार १ जना युवाको मृत्यु भएको र ८ नम्वर वडा अध्यक्ष सहित अन्य २ जना सर्वसाधारणको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको बताएको छ ।

तर वडा नम्वर ९ का अध्यक्ष सिताराम भट्टराईलाई समेत पोजेटिभ देखिएको स्वयम् भट्टराईले बताउनु भएको छ । भट्टराईले झापा टाईम्ससँग कुरा गर्दै आफ्नो पिसिआर रिपोर्ट पोजेटिभ देखिएको बताउनुभयो । उहाँले निजी अस्पतालमा जाँच गराउनु भएको थियो ।

भट्टराईका अनुसार उहाँलाई संक्रमित भएको छु भन्ने कुनै महसुस भएको छैन । उहाँमा कोरोनाको सामान्य  लक्षण समेत देखिएको छैन । उहाँसंगै उहाँको भतिजो र बुहारी समेतलाई पोजेटिभ देखिएको छ । अध्यक्ष भट्टराई अहिले होम आईसोलेसनमा हुनुहुन्छ ।

त्यस्तै हिजो शुक्रवार गौरादहका १३ जनालाई संक्रमण पुष्टि भएको नगर स्वास्थ्य साखाले जानकारी दिएको छ ।

Facebook Comments