बिर्तामोड, २ कार्तिक / झापाको बिर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले ‘मार्सी’ बियरको उत्पादन सुरु गर्ने तयारी गरेका छन् ।

कार्यकारी निर्देशक प्रसाईले भैरहवाको टाइगर ब्रुअरीको बियर फ्याक्ट्री करिब चार अर्ब रुपैयाँमा किनेका हुन् । प्रसाईं उक्त कम्पनीका अध्यक्ष बनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई घरमा बोलाएर मार्सी चामलको भात खुवाएपछि ‘मार्सी’ को चर्चा चुलिएको थियो ।

मार्सीको नाममा धेरैले उनको आलोचना गरे । त्यही आलोचनाका बीच नेपालको चर्चित स्वास्थ्य प्रतिष्ठान बीएण्डसी टिचिङ हस्पिटलका निर्देशक प्रसाईले मार्सी ब्राण्डको बियर उत्पादन गर्न लागेका हुन् ।

जुम्लामा उत्पादन हुने मार्सी चामलको प्रयोगमार्फत बियर उत्पादन गर्ने तयारी छ । टाइगर ब्रुअरीले टेन्सबर्ग बियर बजारमा ल्याउँदै आएको थियो । प्रसाईंले टेन्सबर्गसँगै मार्सी बियर पनि बजारमा ल्याउन लागेका हुन् ।

‘मार्सी प्रिमियम र मार्सी स्ट्रोङ बियर बजारमा ल्याउने तयारी भइरहेको छ’, सञ्चालक प्रसाईंले भने, ‘दुई खाले बियर छिट्टै बजारमा आउँछन् ।’ उनले आफ्नो कम्पनीको प्रोडक्ट सार्वजनिक गरेका छन् ।

हरियो बोत्तलमा मार्सी प्रिमियम र पहेंलो बोत्तलमा मार्सी स्ट्रोङ बियर छन् । साथसाथै क्यान बियर पनि ल्याइने प्रसाईंले बताए । ७० प्रतिशत जौं र ३० प्रतिशत चामल मिसाएर बियर उत्पादन हुने गरेको छ ।

जौं डेनमार्कबाट आयात हुँदै आएको छ भने चामल नेपालकै प्रयोग हुने गर्छ । फ्याक्ट्री प्रतिघन्टा २२ हजार बोतल बियर उत्पादन क्षमताको छ । प्रसाईंले मार्सी बियर नेपालकै उच्च गुणस्तरको बनाउने दाबी गरेका छन् ।बिबेचनाबाट

Facebook Comments