काठमाडाैं / प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार भएको बताउनु भएको छ । उहाले गैरजिम्मेवार र निराधार अभिव्यक्ति दिएर जनतालाई गलत सूचनाका साथ भड्काउन खोजेको स्पष्ट पार्नुभयो ।

६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्णय नै नभएको र कसले बनाउछ भनेर टुंगो नै नभएको आयोजनामा यति अर्ब बाडेर खाए भनेर भन्नु गैरजिम्मेवार कुरा रहेको बताउनु भयो । पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनामा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र शेरबहादुर देउवाले ९ अर्ब खाएको र त्यसको प्रमाण आफुसँग रहेको अभिव्यक्ति दिनु भएको थियो । यद्यपी त्यसपछि भने उहाले प्रमाण नदेखाउने बरु छानविन भए त्यहा कुरा राख्ने भनेर अभिव्यक्ति फेर्नु भएको छ ।

‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यआरम्भ नभएको, र त्यो हुन्छ हुदैन, कसले गर्छ गर्दैन, कसरी गर्छ भन्ने टुंगो नभएको आयोजना, पूर्व प्रधानमन्त्री, वर्तमान प्रधानमन्त्री समेतले यति अर्ब बाडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यस्ता गैरजिम्मेवार अभिव्यक्ति निराधार अभिव्यक्तिको एउटा कुरा हो तर, हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौं । त्यत्ति अनुत्तरदायी हुन सक्दैनौं ।’ उहाले देश र जनतालाई गलत सुचना दिएर भ्रममा पारेर भड्काएर, गलत बाटोमा लाने कुचेष्टा नगर्न आग्रह गर्दै भन्नुभयो, ‘हामी सत्य, निष्ठा जिम्मेवारीभावका साथ मात्रै अगाडी बढ्न सक्दछौं ।’

Facebook Comments