काठमाडौं। उत्तर कोरियाका शासक किम जोंग उनले सम्भवतः जीवनमै पहिलो पटक आफ्नो देशका जनतासँग रुँदै माफी मागेका छन् । उनले आफूले आफ्नो देशलाई सही दिशामा लैजानको लागि सही नेतृत्व दिन नसकेको भन्दै देशका जनतासँग माफी मागेका हुन् । बेलायती अखबार द गार्डियनमा प्रकाशित रिपोर्टअनुसार किम जोंग उनले कोरोना महामारीको कठिन परिस्थितिमा आफू सही नेतृत्व दिन असफल भएको भन्दै माफी मागेका हुन् ।

किम जोंग उन माफी मागेपछि आँखामा आएका आँसु पुछ्दै गरेका पनि देखिए । आफ्नो पार्टीको ७५ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा किम जोंग उन भावुक भएका हुन् । किमले आफू उत्तर कोरियाली जनताको आशाअनुरुप खरो उत्रिन नसकेको भन्दै माफी मागेका हुन् । रिपोर्टका अनुसार किमले सम्बोधनको क्रममा आफ्नो चश्मा खोले र आफ्नो आँसु पुछ्न थाले ।

आफ्ना पूर्वजहरु र विरासतबारे कुरा गर्दै किमले भने ‘किम इल सुंग र किम जोंग इलको महान उद्देश्य पूरा गर्नको लागि यो देशले मलाई जिम्मेवारी सुम्पिएको हो । तर मेरा प्रयासहरु र गम्भीरता जनताको जीवनका कठिनाइहरु कम गर्नको लागि पर्याप्त प्रमाणित हुन सकेनन् । मलाई यसमा दुःख लागेको छ ।’

किम जोंग उन यसरी अचानक भावुक हुनुलाई कोरोनाभाइरसको महामारी र परमाणु हतियारका कारण लागेका प्रतिबन्धका कारण उनको नेतृत्व अत्यन्तै दबाबमा परेको विश्लेषण गरिएको छ । आफ्नो भावुक सम्बोधनका क्रममा किमले कोरोनाभाइरसका कारण पूरै विश्वमा चलिरहेको चुनौतीपूर्ण समयबारे उल्लेख गरे । किमले दक्षिण कोरियासँग सम्बन्ध सुधार गर्ने समेत इच्छा जाहेर गरे । उनले सिधै अमेरिकाको आलोचना पनि गरेनन् । एजेन्सी

Facebook Comments