Categories
कोरोना देश ब्यापार मुख्य स्वास्थ/ शिक्षा

नागरिकले स्वास्थ्य सुरक्षा मापदण्ड नमाने , फेरि लकडाउन हुन्छ : प्रदीप ज्ञवाली 

झापा , २५ असाेज / सरकारले नागरिकलाई स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाए कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि फेरि लकडाउन गर्नुपर्ने बाध्यता आउन सक्ने भन्दै सबैलाई सचेत गराएको छ । सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए फेरि लकडाउन हुन सक्नेतर्फ सरकारले सचेत गराएको हो ।

नागरिकको जीवन रक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।

अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उहाँले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताउनुभयो । चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने उहाँको भनाइ छ । लकडाउन गर्नेरनगर्ने कुरा सरकारी आग्रह र अपिलहरु नागरिकले कति पालना गरिरहेका छन् भन्ने कुरामा भर पर्ने उहाँले बताउनुभयो ।

यस्तै उहाँले सङ्क्रमणको जटिल अवस्था आउन नदिन नागरिकहरुलाई सचेतना अपनाउन अपिल गर्नुभएको छ । काठमाण्डौ उपत्यकामा ६० प्रतिशत बढी सङ्क्रमित देखा पर्न थालेको भन्दै उहाँले नागरिकहरुलाई सचेतना अपनाउन अपिल गर्नुभएको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उहाँले सङ्क्रमणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन आग्रह गर्नुभयो । दशैँ, तिहार र छठजस्ता चाडपर्वहरुमा भिडभाड हुने र सङ्क्रमण झन् बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन उहाँले आग्रह गर्नुभयो । ज्येष्ठ नागरिकहरुको सुरक्षा महत्त्वपूर्ण भएको उल्लेख गर्दै उहाँले सानो लापर्वाहीले गर्दा जीवनमा नै जोखिमको अवस्था आउन नदिन आग्रह गर्नुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *