Categories
देश मुख्य स्वास्थ/ शिक्षा

नागरिकको द‍ृष्टि सुरक्षामा सरकार क्रियाशील छ: स्वास्थ्य मन्त्री ढकाल

काठमाडाैं, २२ असाेज । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नागरिकको द‍ृष्टिकाे सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको बताउनुभएको छ ।

विश्व दृष्टि दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले साे कुरा उल्लेख गर्नुभएकाे हाे । मन्त्री ढकालले  सबै नेपालीमा द‍ृष्टिदोषरहित जीवनको कामना पनि गर्नुभएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा करिब २ अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या  छ ।  करिब १ अर्बलाई अझै पनि आँखा सेवाको पहुँच भएमा दृष्टिको जगेर्ना गर्न सकिने बताइएको छ । यसमा थप करीब २ अर्ब ६० करोडमा अदूरदृष्टिको समस्या छ । तीमध्ये तीन करोड १२ लाख १९ वर्षमुनिका बालबालिकामा यस्तो समस्या देखिएको छ ।

नेपालमा  सन् २०१२ को सर्वेक्षणले  जनसङ्ख्याको ०.३५ प्रतिशतमा दृष्टिदोषको समस्या रहेको देखाएको छ । यो समस्या सन् १९८१ को सर्भेक्षणमा ०.८४% जनसंख्यामा रहेको पाइएको थियो । अन्धोपन तथा दृष्टिदोषको अनुपातमा कमी देखाएपनि जनसंख्या वृद्धि र ज्येष्ठ नागरिकको संख्यामा भएको वृद्धिले अन्धोपन तथा द‍ृष्टिदोषको स‌ंख्यामा त्यति फरक परेको देखिँदैन ।

विश्वव्यापी रूपमा ‘द‍ृष्टिप्रतिको आश’ भन्ने मूल नाराका साथ आज विश्वदृष्टि दिवस मनाइँदै छ ।

मन्त्री ढकालले काेभिड-१९ को संक्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनुपर्ने जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्ने-गराउने कार्यमा सहयोग पु्र्‍याउन सबैमा आह्वान गर्नुभएको छ ।

मन्त्री ढकालले स्वास्थ्य सेवा लिन नपाई मर्कामा रहेका सेवाग्राहीलाई सहज र गुणस्तरीय सेवा नियमित रूपमा प्रवाह गर्न स्वास्थ्य संस्थालाई थप सक्रिय हुन अनुरोध गर्नुभएको छ ।

नेपालमा काेराेना संक्रमितकाे संख्या ९४ हजार २ सय ५३ छ । तीमध्ये ७२.८% निको भइसकेका छन् । काेराेनाले अहिलेसम्म नेपालमा ५७८ जनाकाे ज्यान लिएकाे छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *