झापा , २० असाेज । अमेरिकाले कम्युनिस्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने नीति ल्याएकाे छ ।
शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले जारी गरेको घोषणा अनुसार अमेरिकाको राष्ट्रिय सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको बताएकाे छ ।

यसैबिच नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेण्ठले कम्युनिस्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने गरी ल्याइएको हालैको अमेरिकी नीतिले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको बताएका छन् ।

मंगलबार एक टवीट गर्दै उनले भनेका छन्, यसले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको छ । यही हो ‘नमुना पुँजीवादी लोकतन्त्र !

अमेरिकाले हालै आफ्नो आप्रवासी नियम परिवर्तन गरी अब कम्युनिष्ट पार्टीका सदस्य वा सोसरहको पदमा रहेकाहरुले अमेरिकाको स्थायी बसोवासको अनुमति वा नागरिकता नपाउने व्यवस्था गरेको छ ।

यसअघि अमेरिकाको संसद्ले पारित गरेको सुरक्षाको नियम अनुसार नै आप्रवासी नियममा परिवर्तन गरिएको हो । यूएससीआईएसले सार्वजनिक गरेको विज्ञप्तिमा कुनै पनि कम्युनिष्ट पार्टीका वा निरंकुश पार्टीसँग आबद्ध भएका मानिसले अमेरिकामा आप्रवासीको रुपमा आवेदन दिन नसक्ने उल्लेख गरिएको छ ।

Facebook Comments