पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मेचीनगर नगरपालिकाको नगरसभा सुरु

image

काकडभिट्टा। 
मेचीनगर नगरपालिकाको प्रथम नगरसभा आजदेखी सुरु भएको छ । आर्थिक बर्ष २०७४÷७५ को बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सो सभा भोली सम्पन्न हुने छ । मेचीनगर ६ स्थित काकडभिट्टा खानेपानीको सभाहलमा जारी नगरसभाको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्र कार्कीले कृषि, स्वास्थ्य र शिक्षाको क्षेत्रलाई नगरसभाले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । 

पुर्व सुचना तथा सञ्चार मन्त्री समेत रहनुभएका कार्कीले कोही पनि सुचनाको हकबाट बञ्चित नहुने गरी सुचनाको हकको प्रत्याभुत गरिनुपर्ने बताउनुभएको छ । कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सभा सदस्य गोपाल चन्द्र बुढाथोकीले चुरे दोहनलाई रोक्न नगरपालिकाले विशेष योजना ल्याउनु पर्ने बताउनुभएको छ । 

त्यसैगरी अर्का प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले नगरपालिकाले गर्ने कार्यको मुल्याङ्कन अबको ५ बर्ष पछिको चुनावमा जनताले गर्ने बताउदै विकास निर्माणका कुरामा राजनीति गर्न नहुने बताउनुभयो । 

मेचीनगर नगरपालिकामा समाहित भएका साविक गाविसको विकासमा विशेष ध्यान दिदै समानुपातिक ढङ्गले विकास निर्माणका योजना अगाडी सार्न कार्यक्रमका वक्ताहरुले सभालाई सुझाव दिएका छन ।

नगरपालिकाका प्रमुख विमल आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेल, नेकपा एमालेका प्रदेश कमिटि सदस्य विष्णुप्रसाद प्रसाईँ, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति मणि उप्रेती, नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य बोधराज दाहाल(असिम), संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य धनप्रसाद गुरुङ, नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि दुर्गादेवी खतिवडा लगायतले मन्तव्य राख्नुभएको थियो । 

नगरपालिकाको सवै वडाहरुमा समानुपातिक ढंगले बजेट विनियोजन तथा विकास निर्माणको कार्यमा ध्यान दिन कार्यक्रमका वक्ताहरुले सुझाव दिएका छन् । स्थानीय तह निर्वाचन समापन भएको ७ महिना पश्चात् सुरु भएको मेचीनगर नगरपालिकाको पहिलो नगर सभा उद्घाटन सत्रमा बोल्ने अधिकांस वक्ताहरुले स्थानीय तह सञ्चालनकालागि आवश्यक नीति तथा कानुन निर्माणमा कार्य चाँडो गर्नुपर्नेमा जोड दिएका छन ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख आचार्यले नगरपालिकाको आन्तरिक व्यवस्थापनका साथै बीचमा आएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनले गर्दा नगरसभा बस्न ढिलो हुन गएको बताउनुभएको छ । 

‘‘हामीले आजबाट सुरुवात गरेका छौँ , पहिलो सभाबाट धेरै प्रस्तावहरु पास गरेर लैजान्छौँ विकास निर्माणमा केन्द्रित हुन्छौँ,’’उँहाले भन्नुभयो–‘‘ पाँच वर्षको विचमा सडक , विजुली , ढल , गरिवि निवारण लगायतको क्षेत्रमा महत्वपुर्ण कार्य गर्नेछौँ ।’’ नगर प्रमुख आचार्यले नगरमा शिक्षा , स्वास्थ्य , खानेपानी लगायतको क्षेत्रमा नगरको ध्यान जाने बताउनुभयो । 

नगरमा सवै नागरीकको प्रोफाइल तयार गर्ने, नगरपालिकाका सबै वडाको समानुपातिक विकास गर्ने उँहाले बताउनुभयो । 

नगरपालिका उपप्रमुख मिना उप्रेतीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सुवेदीले गर्नुभएको थियो । 
 

थप सामाग्री