पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नागरिकता बनाउँदा कर्मचारीको लापरबाहीका कारण ७३ बर्षिय देउरानीले पाइनन बृद्धभत्ता 

प्रतिक न्यौपाने

image

ज्यामिरगढी। 
सरकारी कर्मचारीको लापरवाहीका कारण मेचीनगर कि एक बृद्धाले ७३ बर्षको हुँदा सम्म बृद्धभत्ता पाउनुभएको छैन। 
हालको मेचीनगर १५ तथा साविक ज्यामिरगढी गाविस वडा नम्बर ६ निवासी देउरानी चौधरीले आफु वि.सं.२००१ सालको भएपनि अहिले सम्म बृद्धभत्ता नपाएको गुनासो गर्नुभयो । 

२०६३ सालमा आएको टोलीमा नागरिकता बनाउँनुभएकी चौधरीको नागरिकतामा कर्मचारीले २०२८ सालको जन्म मिति लेखिदिएका कारण हाल सम्म बृद्ध भत्ता नपाएको उँहाले बताउनुभयो । नागरिकताको जन्म मिति अनुसार अहिले उहाँले  ४६ बर्षको हुनुभयो । तर आफु २००१ सालको भएको उहाँको भनाई छ । 

उहाँले भन्नुभयो,“टोलीमा नागरिकता बनाउदा मैले १ साले भनेको थिए तर २८ साले बनाइदिएछन । मैले त्यतिबेला बुझिन, अहिले सम्म भत्ता पाएको छुइन ।”

पढ्नलेख्न नसक्ने देउरानीले अहिले आएर बृद्धभत्ता नपाउदा मात्र थाहा पाउनुभयो कि नागरिकताको जन्म मिति गलत रहेछ । 
उहाँलाई पहिले देखि नै चिन्ने धुलाबारीका प्रदिप राजवँशीले २८ साले मात्र नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मान्छे हेर्दा नै थाहा भइहाल्छ नि ७३ बर्ष हो कि ४६ भनेर ।” चौधरीको शारिरिक अवस्थालाई हेर्दा उहाँलेको गालाको छाला झरेर घाँटीमा आइसकेको छ । 

बृद्ध अवस्थामा रहनुभएकी उहाँले  नागरिकता सच्याउने मेलो–मेसो केही थाहा नभएका कारण अरु कसैले नागरिकताको जन्म मिति सच्याउन सहयोग गरिदिन्छ कि भनेर आस गरेर बस्नुभएको छ । आफ्ना सन्तानले पनि नहेरे पछि बृद्ध तथा अशक्त पति र २ नातिनातिनालाई हेर्ने जिम्मा उहाँको काँधमा छ । 

उहाँले धुलाबारीको एक होटलमा काम गर्नुहुन्छ । होटलमा काम गरेर कमाएको पैसाले आफ्नो परिवार चलाइरहेको उहाँले बताउनुभयो । उहाँले गुनासो गर्दै भन्नुभयो, “होटलको भाँडा माझेर दुख गरेर परिवार चलाउनु पर्छ,  त्यो भत्ता आउने बाटो नि छैन । भत्ता आए देखि त सजिलो हुन्थ्यो मलाई ।”

 यसबारेमा जिल्ला प्रशासन कार्यालय सँग बुझ्दा त्यँहाको ढड्डामा पनि २०२८  सालकै भनेर लेखिएको छ । जिल्ला प्रशासन कार्यलय झापाका नायब सुब्बा रमेश  कोइरालाले टोलीमा नागरिकता बनाउदा गल्ति भएको हुन सक्ने बताउनुभयो । 

थप सामाग्री