पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बङ्गलादेशबाट चिठी

टाढा छैन ढाका

image

प्रिय साथी,
अहिले हामी बङ्गलादेशको राजधानी ढाकास्थित नेपाली घर (नेपाली पेभेलियन)को स्टल नं. १ बाट यो चिठी लेखिरहेको छौँ ।  
अग्रभागमा सुन्दर हिमालको चित्र र गेटमा चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डाले झकिझकाउ नेपाली स्टलमा नेपाली टोपीमा सजिएर यो पत्र टाइप गरिरहँदा हामी यतिखेर हाम्रो प्यारो देश नेपाल, सगरमाथा, लुम्बिनी, पशुपतिनाथ र झापालाई सगौरव झलझली सम्झिरहेका छौँ ।
काठमाडौँभन्दा बङ्गलादेशको राजधानी ढाका पुग्न झापाबाट नजिक र कम खर्चिलो हुन्छ भन्ने यसअघि हामीलाई थाहा थिएन । यो तथ्य थाहा पाउनेले यसअघि त्यसको उपयोगिताबारे कहिल्यै प्रचार गरेनन्, जसका कारण नेपाल र बङ्गलादेशविच सम्बन्ध नेपालका लागि अहिलेसम्म पनि बिरानो र घाटाको विषय बनिरहेको हामीलाई अनुभूति भइरहेको छ ।

मित्र,
सोमवार फस्ट जनवरीको विहान हामी बङ्गलादेशको राजधानीमा ओर्लिदा नेपाल जत्रै जनसङ्ख्या धानिरहेको संसारकै ठूलामध्येको सहर ढाका नयाँ वर्ष सन् २०१८ को उत्सवमा धुमधाम रमाइरहेको थियो ।
‘सलाम् वालेकुम् !’–एउटा कफी क्याफेमा छिर्नासाथ हामीले मधुर स्वरमा मीठो अभिभावदन ग्रहण गर्यौँ । जहाँ गए पनि पाहुनाहरुलाई उनीहरु स्वागतार्थ अभिवादन गर्न भुल्दैन रहेछन् । सहरभरि जताततै ‘ह्याप्पी न्यू इयर’ लेखिएका साइनबोर्ड, फ्लेक्सबोर्ड र स्क्रोलबोर्ड थिए । हाम्रो आगमनमा पुरै ढाका स्वागतका लागि तयार भइरहे जस्तो पो लाग्यो ।
यसपटक ढाका यात्रामा पनि हामी ज्ञानेन्द्र निरौला र मोहन काजी (धेरैले हामीलाई पत्रकारिताको ‘मह’ जोडी जस्तै ठान्छन्)को साथ छुटेको छैन । हामी दुबैको पहिलो विदेश भिजिट चाइनामा भएको थियो । कान्तिपुरका पर्वत पोर्तेल समेत गरी हामी तीन पत्रकार ढाका यात्रामा विन्दास रमाइरहेका छौं ।



नजिकै छ ढाका
परस्पर सम्बन्धलाई भौगोलिक दूरी, संस्कृति र मित्रताले नजिक तानिरहेको हुन्छ भन्ने मान्ने हो भने तिन वटै कुराले बङ्गलादेश हामी नेपालीका निम्ति ज्यादै अनुकूल मित्रराष्ट्र हो ।
काँकरभिट्टाबाट काठमाडौँ जान ६ सय किलोमिटरको दूरी छिचोल्नु पर्छ, तर बङ्गलादेशको राजधानी ढाका मात्रै ५ सय किलोमिटरमा रहेछ ।
हामीलाई काँकरभिट्टाबाट बङ्गलादेशको बोर्डर पञ्चगढ पुग्न ५० किलोमिटर र पञ्चगढबाट मकालु जस्तै नाइट बस चढेर ढाका पुग्न साढे ४ सय किलोमिटर लाग्यो ।
पञ्चगढ बङ्गलादेशको उत्तरी सीमान्त सहर हो । झापा जस्तै हरिया चिया बगानहरु र उर्वर धान खेती भएको भूगोल रहेछ पञ्चगढ । ढाकाबाट फर्केपछि तपाइँलाई लिएर कम्तीमा पञ्चगढ घुमाउन लैजाने हामीले सोच बनाइसकेका छौँ । पञ्चगढमा दिनभरि घुमघाम गरेर वेलुका झापा फर्किन कुनै गाह्रो नहुने रहेछ ।
पञ्चगढबाट ढाका जान ६ सय टाका (नेपाली करीव ९ सय रुपैयाँ) बसभाडा लाग्दो रहेछ । अनि भएन त काठमाडाँै जानभन्दा सस्तो !
हुन त पञ्चगढबाट ५० किलोमिटर टाढा साहिदपुर भन्ने अर्को सहर रहेछ । जहाँ हाम्रो चन्द्रगढीमा जस्तै डोमेस्टिक एयरपोर्ट छ । तर हामी नाइटबसकै मज्जा लिदै ढाका गयौँ ।
ढाका जाने हाम्रो टोलीका प्रमुख पन्नालाल जैनले बताए अनुसार चन्द्रगढीसँग हवाई कनेक्सनको व्यवस्था हुँदो हो त १० मिनेट पनि लाग्दैन रे साहिदपुर उत्रिन ।



हामी किन ढाकामा ?
जनवरी १ तारिखदेखि एक महिने लामो अन्तर्राष्ट्रिय व्यापार महोत्सव बङ्गलादेशको राजधानीमा सुरु भएको छ । हामी तिनजना पत्रकार रिपोर्टिङका लागि नेपाली प्रतिनिधिमण्डलसँग यहाँ आइपुगेका हौँ ।
६० सदस्यीय नेपाली टोलीको पहिलो खेपमा थियौँ, किनकि हामीले उद्घाटन समारोह पनि भ्याउनु थियो ।
पहिलो टोलीमा १० जना छौँ । जसको नेतृत्व नेपाल बङ्गलादेश चेम्बर अफ ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैनले गर्नु भएको छ । टोलीमा मेची उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष ध्रुव कनाल, पूर्व उपाध्यक्ष अजय घिमिरे, ट्रेडर्सका सदस्य गोपाल गुप्ता, मणि थुक्पा उद्योग अर्जुनधाराका प्रोपाइटर रुद्रमणि श्रेष्ठ, ट्रेडर्सकै सदस्य बालकृष्ण उप्रेती र व्यवसायी चन्द्र राई रहनु भएको छ ।
यति धेरै जना गएको बेला आफुलाई किन  टोलीमा नअटाएको होला भन्ने गुनासो तपाइँको मनभित्र पक्कै रह्यो होला । ढुक्क हुनुहोला, अर्कोपटक तपाइँ छुट्नु हुने छैन ।  

भव्य रहेछ महोत्सव
ढाकाको मध्यभागमा अवस्थित फराकिलो शेरे बाङ्ला मैदानमा महोत्सवको उद्घाटन बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेदले गर्नु भयो ।
कसिलो सुरक्षाघेराविच भएको उद्घाटन समारोहमा सीमित घरेलु र विदेशीहरुलाई प्रवेश दिइएको थियो । नेपाली राजदूत डा. चोपलाल भुसाल उद्घाटनमा अतिथि हुनुहुन्थ्यो ।
महोत्सवका अधिकांश ठाउँमा बङ्गलादेशका संस्थापक नेता मुजिवर रहमान र प्रधानमन्त्री शेख हसिनाको मुस्कुराइरहेको ठूल्ठूला फ्लेक्स बोर्ड टाँगिएका छन् ।
२७ मुलुकका ५ सय ४३ वटा स्टल महोत्सवमा छन् । जसमध्ये फरेन मिनी पेभेलियन नं. १ मै नेपालको स्टल रहेको छ । हिमाल, पहाड र तराईको चित्र नेपाली पेभिलियनको ब्यानर बोर्डमा राखिएको छ भने राष्ट्रिय झण्डा फरफराइरहेको छ ।



ढाकामा ‘नेपाली ढाका
नेपाली स्टलमा नेपालको स्पेशल एग्रो प्रोडक्टहरु प्रदर्शन र केही विक्रीमा राखिएका छन् ।
नेपाल बङ्गलादेश चेम्वर अफ ट्रेडर्सको स्टलमा ढाका टोपी, ढाकाका हाते झोला, अलैची, अदुवा, काँचो सुपारी, पस्मिना सल, बाँसको मुडा, इस्कुस, चिउरा लगायतका सामान छन् ।
अर्को स्टलमा पाँचथरको कञ्चनजङ्घा टी इस्टेट एन्ड रिसर्च सेन्टर प्रालिको अग्र्यानिक चियाका विभिन्न २४ फ्लेवर राखिएको डाइरेक्टर शान्ता बाँस्कोटा कोइरालाले जानकारी दिनुभएको छ ।
नेपाली अर्थोडक्स र सीटीसी चिया लगायतका अरु सामान पनि स्टलमा आउँदै गरेको नेपाली राजदूतावासका उपप्रमुख धनबहादुर ओलीले बताउनु भयो ।

अलिकति कुरा बङ्गलादेशको

१७ करोड जनसङ्ख्या भएको बङ्गलादेश चीन र भारतपछि सबैभन्दा धेरै जनघनत्व भएको नेपालको छिमेकी मुलुक हो ।
बङ्गलादेशको विशाल बजारमा नेपाली उत्पादन पुर्याउन सके नेपालको व्यापार नसोचेको गतिमा उकालो लाग्न सक्ने देखिन्छ ।
३ करोड जनसङ्ख्यालाई काखमा बोकेको ढाका सहर समुन्द्रबाट भने करीव २ सय किलोमिटर टाढा रहेछ । तथापि नजिकैको जमुना नदीमा ठूला डुङ्गाहरु चल्दारहेछन् ।
बङ्गलादेशको समुन्द्री सहर चटगाउँ र कक्सबजार २ सयदेखि ४ सय किलोमिटर टाढा छन् । चटगाउँ बन्दरगाह प्रयोग गर्न बङ्गलादेश सरकारले नेपाललाई आग्रह गरिरहेको रहेछ भने कक्सबजार पर्यटकीय नगरी हो ।
८५ प्रतिशत मुस्लिम धर्मावलम्बी रहेको बङ्गलादेशमा हिन्दू अल्पसङ्ख्यक मानिन्छन् । मस्जिदै मस्जिदको सहर ढाकामा केही हिन्दु मन्दिर पनि रहेछन् । ढाकेश्वरी देवीको हिन्दु मन्दिर यहाँको आकर्षक स्थल रहेछ ।
फराकिला चार लेनका सडक, दुई टाढे बस, इन्जिन फिट गरिएका रिक्साको भीड, गगनचुम्वी महल यहाँका विशेषता हुन् ।
बङ्गलादेशी भन्ने वित्तिकै लुङी लगाएका र झुस्से दाह्री पालेका मानिस मात्रै दिमागमा आउन सक्छ । तर अहिलेका बङ्गलादेशीहरु परम्परा र आधुनिकतालाई सँगैसँगै मिलाएर अघि बढिरहेका रहेछन् । मुस्लिम देश भए पनि यहाँका महिलाहरु बुर्का नलगाइकन हिँडडुल गर्छन् ।



उच्च भेटघाटको अनुभव
परदेशमा राजदूतावास चाहिँ आफ्नै घर जस्तो हुँदोरहेछ । बारीधारास्थित नेपाली राजदूतावासमा जाँदा प्यागोडा शैलीको भवनले नेपाली पहिचान झल्काएको थियो ।
राजदूत डा. चोपलाल भुसाल, मिनिस्टर काउन्सिलर धनबहादुर ओली, अधिकृत रिया क्षेत्री, सहायक कर्मचारी रातोसी जबिन र डेमोस्ट्रेटर लुक्ना मरियमले प्रकट गरेको न्यानो स्वागत र सद्भावलाई बिर्सन सकिन्न ।
हामीले ढाकास्थित सार्क एग्रीकल्चर सेन्टरमा कार्यरत नेपाली विज्ञ डा. प्रद्युम्नराज पाण्डे, साराबेला सामुदायिक रेडियोका प्रोड्युसर पलास कुन्डु, पञ्चगढ प्रेस क्लवका अध्यक्ष रहमान मुकुल, क्लवका उपाध्यक्ष मोहम्मद हरुन उर रसिद बाबु, डीबीसी टेलिभिजनका सिनियर रिपोर्टर अनुप अधिकारी तरुण लगायतसँग भलाकुसारी गर्यौँ ।
हामीले राजदूत डा.चोपलाल भुसाल र मिनिस्टर काउन्सिलर धनबहादुर ओलीसँग दूतावासमै बसेर अन्तरवार्ता लियौँ । ओलीले ढाका दूतावासमा नेपाली पत्रकारले अन्तरवार्ता लिएको यो नै पहिलो अवसर भएको बताउनु भएको थियो ।
पञ्चगढ प्रेस क्लवले हाम्रो टोलीलाई बङ्गलादेश प्रवेश गरेकै दिन भव्य स्वागत गरेको थियो । मेचीनगर प्रेस क्लवसँग त्यहाँको प्रेस क्लवविच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति हुनु एउटा महत्वपूर्ण उपलब्धि थियो ।
फार्म गेटस्थित होटल ग्रीन प्यालेसमा हाम्रा लागि राजदूतावासले बास खोजिदिएको थियो । सात तलामाथि हाम्रो टोली बसेको थियो । साँझमा हामी ढाकाकै ठूलो बसुन्धरा सपिङ मलमा घुम्न गयौँ ।

केही रोचक तथ्यहरु
बङ्गलादेश संसारमा सबैभन्दा ठूलो गार्मेन्ट उत्पादक देश हो । यहाँ उत्पादित औषधि संसारका ४२ मुलुकमा निर्यात हुँदोरहेछ ।
नेपालको भन्दा एक हजार वर्ग किलोमिटर कम मात्र क्षेत्रफल छ बङ्गलादेशको । तर जनसङ्ख्या भने पाँच गुणा ज्यादा बङ्गलादेशमा छ ।
मेडिकल शिक्षाका लागि बङ्गलादेश संसारमै फेमस रहेछ । ढाकामा दर्जनौँ मेडिकल कलेज देखिए । जहाँ हजारौ नेपाली विद्यार्थी एमबीएस र एमडी पढिरहेका छन् ।
डा. भगवान कोइराला, डा. गोविन्द केसी लगायतका नेपालका अधिकांश फेमस डाक्टरहरुले बङ्गलादेशमै पढेका रहेछन् ।
बङ्गलादेशमा चारै सिजनसम्म धानको खेती हुँदोरहेछ । बर्षामा ३ महिना मुलुकको अधिकांश भाग पानीपानी हुन्छ रे । अरुबेला अन्न र सब्जी बाहिर पठाउने बङ्गलादेशले बर्षाका बेला बाहिरबाट सब्जी किन्दो रहेछ । नेपालले त्यसबेला सब्जी पठाउने हो भने दोब्बर दाममा विक्री हुने सम्भावना रहेछ ।
बङ्गलादेशीहरु आफ्नो खानेकुरामा अलैँची र अदुवा छुटाउँदैनन् । तर अधिकांश बङ्गलादेशीलाई नेपालमा अलैँची र अदुवा उत्पादन हुन्छ भन्ने थाहै छैन । जबकि सत्य के हो भने विश्वको ७० प्रतिशत अलैँँची नेपालमा उत्पादन हुन्छ ।

अन्त्यमा,
यो चिठीसँगै बङ्गलादेश भिजिटका केही तस्वीरहरु सम्प्रेषण गरेका छौँ । आशा छ तपाइँलाई बङ्गलादेशको बारेमा अभिरुचि जगाउन हाम्रो चिठी सहयोगी बन्न सक्यो भने हामी आफ्नो मिहेनत सफल भएको ठान्ने छौँ ।
हामी बसेको ढाका सहर र हामीले लगाउने गरेको ढाका टोपीविचको सम्बन्ध थाहा छ ? शताब्दी अघि काठमाडौँका शासक रुद्र शमशेरले बङ्गलादेशको ढाकामा केही शिल्पीहरुलाई पठाएर ढाका बुन्ने राम्रो ज्ञान दिलाएका थिए रे भन्ने सुनेका छौँ । त्यसकारण नेपाली कपडाको नाम बङ्गलादेशको राजधानीको नामसँग मिल्यो । यो कुरो हो कि होइन, हामी पनि खोजी गरिरहेका छौँ ।
धन्यवाद !

तपाइँको मित्रहरु,
मोहन काजी
ज्ञानेन्द्र निरौला
अन्तर्राष्ट्रिय व्यापार महोत्सव
ढाका, बङ्गलादेश
फोन नं. ८८–०१७७३४६३१५८

लोकतन्त्र पोष्ट दैनिकमा समेत प्रकाशित ।