पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उच्च रक्तचाप : साना गल्ती, ठूला समस्या

डा ओममूर्ति अनिल, मुटुरोग विशेषज्ञ

नसर्ने रोग विश्वव्यापी समस्या हो । नेपालमा ६० प्रतिशतको नसर्ने रोगबाट असामयिक निधन हुन्छ । निम्न र मध्यम आय भएका देशमा हुने मृत्युमा दुई तिहाइको नसर्ने रोगबाट निधन हुने गरेको अध्ययनले देखाएको छ।

न्यून र मध्यम आय भएका देशका मानिस नसर्ने रोगबाट प्रताडीत हुनुका कारण विभिन्न छन् । तीमध्ये समयमै रोग पहिचान नहुनु र पहिचान भए पनि उपचार नहुनु मुख्य कारण हो । एक त रोग पहिचान नै नभएका कारण उपचार हुँदैन भने अर्कोतर्फ उपचारमा पहुँचको अभाव र आर्थिक अभावले पनि नसर्ने रोगबाट धेरै मानिस ज्यान गुमाउन वाध्य छन् । यस्ता रोगबारे पर्याप्त जानकारी नपाउनाले पनि नसर्ने रोगबाट मृत्युवरण गर्नेहरु बढेका हुन्। 

पछिल्लो समय नसर्ने रोगको प्रभाव तीव्र रुपले बढ्नुमा सामाजिक रुपान्तरण पनि एक कारण हो । सामाजिक रुपान्तरण यति चाँडो भइरहेको छ कि, हामी अस्वस्थ जीवनशैली अपनाउन वाध्य भइरहेका छौं । त्यसको तुलनामा चेतना, उपचार गर्ने ठाउँ र आर्थिक अवस्था भने उस्ताको उस्तै छ । जसका कारण मधुमेह, मस्तिष्कघात र मुटुरोगीको संख्या बढ्दै गएको छ । यसको मुख्य कारण उच्च रक्तचाप हो । 

उच्च रक्तचापलाई नियन्त्रण गर्न सक्ने हो भने, नसर्ने रोगको प्रकोप आधाभन्दा बढीले घट्छ । तथ्यांकले भन्छ, ‘संसारमा सबैभन्दा बढी उच्च रक्तचापका कारण हुने समस्याबाट मान्छेको मृत्यु भइरहेको छ । उच्च रक्तचापबाट जोगिन यसको पहिचान, नियन्त्रण र रोकथाम आवश्यक हुन्छ । सहरिया जीवनयापन गरिरहेकाको परिवारमा सामान्यतया दुई–तीन जनालाई उच्च रक्तचाप छ। ४० वर्षको उमेरमा रहेका ४० प्रतिशतलाई नै यो समस्या छ । उमेर अनुसार रक्तचाप बढ्दै जान्छ । यस अनुसार भविष्यमा गएर अधिकांसलाई यो समस्या आउनेवाला छ र औषधि नखाई धरै छैन भन्ने बुझे हुन्छ। 

त्यसैले रक्तचाप नियन्त्रण गर्ने कुरामा हरेक व्यक्ति सुरुदेखि नै सचेत हुनुपर्छ । हामीले दैनिक खाने गरेको नुनको मात्रा घटाउनु सबैभन्दा प्रभावकारी र पहिलो कदम हुन सक्छ । नुन कम खाँदा मात्रै पनि धेरैलाई असामयिक निधनबाट जोगाउन सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ। 

रक्तचापका बिरामीले गर्ने गल्ती
मुटुरोग, मस्तिष्कघात र मिर्गौला फेल गराउने मुख्य कारण नै उच्च रक्तचाप हो । धेरैमा रक्तचाप जाँचिरहने बानी हुँदैन । किनकि रक्तचाप बढ्दै गइरहँदा यसको खास लक्षण हुँदैन । 
उच्च रक्तचाप भएको दुई–तीन वर्षमा समस्या देखिन थाल्छ । रक्तचाप बढ्दै जाँदा शरीरले पनि एक चरणसम्म ‘एडप्ट’ गरिदिन्छ । यसैगरी उच्च रक्तचाप देखियो भने प्रायःले अलि–अलि अभ्यास थाल्छन् । खानपान मिलाउँछन् । रक्तचाप ठीक ठाउँमा आउँछ । त्यसपछि ठीक भयो भनेर ढुक्क हुन्छन् । फेरि पुरानै जीवनशैलीमा फर्किन्छन् र उच्च रक्तचापको शिकार हुन्छन्। 

उच्च रक्तचाप भएर डाक्टरकहाँ पुग्नेहरु सकेसम्म औषधि खान इन्कार गर्छन् । एक्सरसाइज गर्ने, डाइटिङ मिलाउने आदि दाबी गर्छन् । बिरामी उच्च रक्तचापले समस्या आइसकेपछि डाक्टरकहाँ आउने हुनाले सकेसम्म औषधि, एक्सरसाइज र डायटिङ सँगैसँगै लैजाउन् भन्ने चाहना डाक्टरको हुन्छ । डाक्टरले ‘कन्भिन्स्ड’ गरेपछि मात्रै औषधि खान तयार हुन्छन् । औषधि लेख्दा डाक्टरले निश्चित समयसम्मका लागि लेख्छन् र औषधि सकिनु केही दिनअघि फेरि जँचाउनु भन्छन् । बिरामीले डाक्टरले भनेको मितिसम्म औषधि खान्छन् तर जँचाउन भने आउँदैनन्। 

जब पुनः रक्तचापले हान्छ, रिँगटा लाग्छ वा टाउको दुख्छ अनि मात्र डाक्टरको ढोका ढकढक्याउन आइपुग्छन् । त्यो समय बिरामीले औषधि छाडेको केही महिना बितिसकेको हुन्छ । बिरामीको दाबी हुन्छ, ‘तपाईंले भनेको समयसम्मै औषधि खाएको थिएँ ।’ 

जबकि डाक्टरले तीन महिना मात्रै औषधि खानु भनेको हुँदैन । तीन महिना औषधि खाएर फेरि जँचाउन आउनु, त्यो बेलाको अवस्था अनुसार औषधि घटबढ गर्छु भनेको हुन्छ । 

कतिले त त्यही समयमा मुटुको समस्या, मस्तिष्कघात र मिर्गाैलाको समस्या झेलिसक्छन् । ज्यान तलमाथि पनि भइसकेको हुन सक्छ । यिनै समस्यामाथि गरिएको अनुसन्धानले ५० देखि ६० प्रतिशतको औषधि खाँदा पनि रक्तचाप नियन्त्रणमा नआउने गरेको देखाएको छ। 

यसैगरी, औषधि खाने तर मदिरा र चुरोट नछाड्ने, आफ्नो तौल घटाउन नसक्ने र तनाव नियन्त्रण गर्न नसक्नेलाई पनि औषधिले अपेक्षित फाइदा नपु¥याएको हुन सक्छ । 
व्यक्ति र उसको अवस्था हेरेर औषधि दिने र डोज मिलाइयो भने मात्रै रक्तचाप नियन्त्रणमा आउन सक्छ। 

कति हुनुपर्छ रक्तचाप? 
धेरैले रक्तचाप १४०÷९० हुँदा पनि ठिकै छ भन्ने ठान्छन् । १५०÷९० पुग्दा पनि घटाउनेतिर ध्यान दिँदैनन् । किनभने बिरामीलाई यसका कारण गाह्रो भएको हुँदैन । तर, अध्ययनले रक्तचाप माथि १२० भन्दामुनि र तल ८० भन्दामुनि हुनुपर्ने देखाएको छ। १२०/९० सीमा रेखा हो । यो कट्यो भने रक्तचापका कारण आउने समस्य ढिलोचाँडो भोग्नुपर्छ भन्ने बुझ्नुपर्छ । 

सीमारेखा कटेपछि बिस्तारै मुटुको नलीमा ‘ब्लकेज’ सुरु हुन्छ । कुनै ठाउँमा साँघुरो र कुनै ठाउँमा फुकेको हुन्छ । मिर्गौलामा प्रोटिन निस्किन थाल्छ र बिस्तारै  मिर्गाैला फेल हुन सक्छ । यसैगरी, मस्तिष्कको नलीमा असर गरिरहेको हुन्छ । त्यस्तै, ५ देखि १० वर्षपछि मस्तिष्घात हुने सम्भावना उच्च हुन्छ।

पहिले रक्तचाप १४०/९० पुग्यो भने मात्रै औषधि खान भनिन्थ्यो । तर, अहिले अमेरिकन कार्डियोलोजीको गाइडलाइन परिवर्तन भयो । १३०/८० मै औषधि खानुपर्ने उल्लेख गरियो । सन् २००२ मा भएका केही अनुसन्धानले यस्तो आधार दिएपछि केही डाक्टरले त्यो समयदेखि नै यसलाई अपनाइरहेका छौं । उच्च रक्तचापको नम्बर जति थपिन्छ, मुटुरोगको सम्भावना त्यसको दुई गुणाले बढ्छ । 

हाम्रो देशमा १४०/९० हुँदा पनि वास्ता नगरेको पाइन्छ । जसले गर्दा समस्या बढिरहेको हो । 

३० वर्षकै उमेरमा उच्च रक्तचाप
नेपालमा औसत ३० देखि ३५ वर्षकै उमेरमा रक्तचापको समस्या देखिन थालिसकेको छ । स्वस्थ खाने, तनाव कम लिने र एक्सरसाइज गर्ने चलन सरदर २० वर्षको उमेर अर्थात् इन्टरमिडिएट अध्ययन सक्दासम्म मात्रै रहन्छ । त्यसपछि हामी दौडधुपमा लाग्छौं । उच्च शिक्षासँगै जागिर खोज्नमा भौंतारिन्छौं, आर्थिक अवस्था सुधार गर्न तिर लाग्छौं । यसबाट धपेडी र तनाव सुरु हुन्छ । यही १० वर्षभित्र अर्थात् ३० वर्षकै उमेरमा उच्च रक्तचाप हुन्छ । अन्य समस्या आउँछ । तर, आम बुझाइ के छ भने, ४० वर्षसम्म मुटुरोग लाग्दैन । यो गलत बुझाइ हो । 

सहरी क्षेत्रमा बस्ने नेपाली युवामा उच्च रक्तचापको समस्या हुने सम्भावना उच्च नै छ । सहरिया युवा ढिलोचाँडो यसको शिकार हुने उसको खानपान र जीवनशैलीले देखाउँछ । कामको सेड्युल ब्यस्त, एक्सरसाइज गर्न पाइरहेका छैनौं,  विषादियुक्त खाना खान्नँ भनेर पनि साध्य लाग्ने अवस्था छैन । सास फेर्ने वायुमण्डलमा प्रदूषण छ र तनाव चाहेर पनि घटाउन सकिने स्थिति छैन । यी तमात कारणले युवा अवस्थामै उच्च रक्तचापको सिकार बन्नुपर्ने वाध्यता झेल्नुपरेको छ ।

के गर्ने त? 
सकेसम्म त जीवनशैली सुधार्नु नै राम्रो हो । एक्सरसाइज गर्ने, खानामा सन्तुलन मिलाउने र तनाव घटाउने गर्नुपर्छ । तर, यो अधिकांसका लागि सम्भव छैन । त्यसैले रक्तचाप नियन्त्रणमा राख्न सकिरहेका छैनन् । रक्तचाप भयो भने सँगसँगै मुटु, मिर्गौला, मस्तिष्क र सुगरको समस्या पनि आइहाल्छ। 

त्यसैले जसरी भए पनि रक्तचाप नियन्त्रणमा राख्नुपर्छ । यसको उत्तम विकल्प औषधि सेवन नै हुन सक्छ । तर, रक्तचापको औषधि भनेपछि भाग्ने चलन छ । यसको ‘साइड इफेक्ट’ हुने भूतले धेरैलाई सताएको हुन्छ । जसले गर्दा रक्तचाप नियन्त्रणमा राख्न सक्दैनन् र असामयिक रुपमा ज्यान गुमाउन पुग्छन् । धेरैको बुझाइ छ, औषधि खान थालेपछि त जीवनभरि खानुपर्छ, सकेसम्म खानु हुँदैन। तर एउटा औषधि खाएर जीवनभरि रक्तचाप नियन्त्रणमा राख्न सकिन्छ भने किन नखाने भन्ने बुझ्न सकेको पाइँदैन। 

उच्च रक्तचाप भइसकेपछि नियमित औषधि खानु भनेको ज्यान जोगाउनु हो । यसलाई भारका रुपमा नलिएर बाँच्नका लागि खाइने खानापानी जस्तै ठान्नुपर्छ । खाना खान पनि त झन्झट छ । खाने काम गर्दा पनि त समय बरबाद हुन्छ । यसको पनि साइड इफेक्ट छ । खाएपछि दिसा जानुपर्ने अवस्था साइड इफेक्ट होइन र ? तर, खानैपर्ने भएकाले सबै कुरालाई स्वभाविक रुपमा लिएका छौं । त्यसैगरी, उच्च रक्तचापको औषधिलाई पनि स्वभाविक रुपमा लिन सक्नुपर्छ। 

औषधिको साइड इफेक्ट हुन्छ, तर जति २० वर्षअघिका औषधिमा हुन्थ्यो त्यति अहिलेका औषधिमा हुँदैन । उच्च रक्तचापको कुरा गर्ने हो भने सयमा १ प्रतिशत हुने हो । मुटुरोग, मस्तिष्कघात र मिर्गौलाको समस्या बेहोर्नु भन्दा यति साइड इफेक्ट सहनु बुद्धिमानी होइन र ? 

साइड इफेक्ट त डाक्टरको निगरानीमा 
साइड इफेक्ट त ज्यान रह्यो भने हटाउन सकिन्छ । मानौं कुनै रक्तचापको औषधिले साइड इफेक्ट स्वरुप सुगर बढायो भने त्यसको ठाउँमा अर्काे औषधि दिएर घटाउन सकिहालिन्छ । 

तर, उच्च रक्तचाप भइसकेकाहरुले यो वा त्यो बहानामा औषधि नखाएर वा छाडेर मृत्यु निम्त्याइरहेका छन् । जहाँसम्म नियन्त्रणको वैकल्पिक उपाय छ, त्यो औषधि सँगसँगै अपनाउन सकिन्छ । 

बिरामीले नियमित एक्सरसाइज गरेर, स्वस्थ खानपानको सन्तुलन मिलाएर रक्तचाप नियन्त्रणमा ल्याए भने डाक्टरले नै औषधि हटाइदिन्छन् । तर, कृपया औषधि नखाने बहाना खोजेर ज्यान जोखिममा नपार्नुहोला । 

साभार: स्वास्थ्य खबर पत्रिकाबाट

थप सामाग्री