पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राम कार्कीलाई खुला पत्र

image

माननिय राम कार्की ज्यू नमस्कार,
नयाँ संविधानले ब्यवस्था गरेको नयाँ संरचना सहितको प्रतिनिधि सभामा झापा क्षेत्र नं. १ बाट बिजयी बन्नु भएकोमा तपाईलाई हार्दिक बधाई अनि सफल कार्यकालको शुभकामना छ । झापा क्षेत्र नं. १ का जनताले तपाईलाई आफ्नो सम्बृद्धिको सम्बाहकका रुपमा मत दिएका छन । लोकतान्त्रीक पद्दतीमा जनमतको कदर गर्दै त्यस अनुरुप अगाडी बढ्नु पहिलो आवश्यकता हो । चुनावताका पाहुना भनेर लेख्ने मध्येमा एक जना म पनि भएको कुरा तपाईलाई अवगत नै छ । म पत्रकार हो, त्यसैले मैले कसैको भजन गाउने भन्दा पनि तथ्यमा आधारित भएर कलम चलाउनु पहिलो कर्तब्य हुन्छ । तसर्थ तपाईका बारेमा चुनाव अघी लेखेको बिषय झापा क्षेत्र नं. १ को ईतिहास र तपाईसंग जोडिएका केही यथार्थ बिवरणमा आधारित थियो । यथार्थ लेख्दा आज एउटाको पक्षमा देखिएला त भोली अर्कोको पक्षमा देखिएला, त्यस्तो अवस्था यो भन्दा अगाडीदेखी नै पनि मैले भोग्दै आईरहेको छु । तर यस्ता कुराले मलाई कहल्यै बिचलित बनाएन पनि र बनाउने पनि छैन । यथार्थलाई कसैको आग्रह र पुर्वाग्रहमा बदल्ने काम म बाट कहिले भएको पनि छैन र हुँदैन पनि ।
आदरणीय राम कार्की ज्यू,
यस पटकको निर्वाचनबाट जुन परिणाम आएको छ त्यसले खास अर्थ बोकेको छ । देशै भरिबाट बाम गठबन्धनका पक्षमा जुन जनलहर आयो यो कुनै चमत्कार भएको भनेर सायदै कसैले बुझ्दैन । किनकी यसका लागि पुर्वाधार तयार गर्ने काम केपी ओली नेतृत्वको सरकारले गरेको थियो । त्यसमा थप बल पु¥यायो एजेण्डा बिहिन भएर चुनावमा होमिएको काँग्रेसले । जनताको तत्कालको चाहाना बुझ्न नसके पछि आज आफुलाई सबैभन्दा पुरानो र लोकतन्त्रको सच्चा हकदार बताउने काँग्रेसको यो हबिगत भएको छ । त्यसैले जनताको चाहाना नबुझ्दा हुने क्षतिको आकंलन गर्न अरु केही भनिरहनु पर्दैन मात्र अहिलेको काँग्रेसको हबिगत हेरे सबै छर्लङ्ग हुन्छ ।
खासगरी मैले तपाई माननिय राम कार्की ज्यूलाई यो खुला पत्र मार्फत केही बिषय प्रति ध्यानाकर्षण गराउन खोजिरहेको छु । झापा क्षेत्र नं. १ को बिगत त्यति आशलाग्दो छैन । खास गरी यस क्षेत्रमा धेरै सांसदको उम्मेद्वार बन्न आएकाहरु यस क्षेत्रमा मुल बसोबास नभएकै मानिस हुनुहुन्थ्यो । यस क्षेत्रमा अन्य जिल्लाबाट आएर चुनाव लडेकाहरुले फर्केर यो क्षेत्रमा दोहो¥याएर आएनन कीनकी उनीहरुले यहाँ केही गरेनन । हारेका त आएनन आएनन जितेका सम्मले पनि यस क्षेत्रका बारेमा सोचेनन र आज तपाईले घुम्दै गर्दा हेर्नु भयो होला सम्बृद्ध झापाको यो क्षेत्रको अवस्था कस्तो छ । तपाई पनि अन्य जिल्लाबाटै उम्मेद्वार बन्न झापा १ आउनु भएको कुरा कसैले मान्ने र नमान्ने भन्दा पनि यथार्थ हो । तर तपाईलाई यहाँका जनताले पाहुनाबाट घर मुली बनाएका छन । जुन कुरा तपाईले कहिल्यै बिर्सनै नहुने कुरा हो । जनमतको सम्मान गर्दै हिजो पाहुना भन्ने मैले आजबाट तपाईलाई झापा क्षेत्र नंं १ को मुलीको रुपमा स्वीकार गरिसकेको छु ।
तपाईलाई राष्ट्रिय राजनितिको केन्द्रमा रहेर मुलुकलाई निकास दिन सक्ने नेताका रुपमा मैले बुझेको छु । हाम्रो भुगोल भित्रका बौद्धिक नेताको सुचीमा तपाईलाई पनि सुचीकृत गरिएको छ । यसरी हेर्दा अब तपाई आबद्ध बाम गठबन्धनको सुबिधाजनक बहुमतको सरकार बन्दैछ । तपाई त्यो सरकारमा मन्त्री हुनुहुन्छ या हुनुहुन्न त्यो प्राबिधिक कुरा होला तर तपाई यो क्षेत्रको सांसद अब ५ बर्षलाई रहिरहनु हुन्छ । त्यसैले राष्ट्रिय राजनितिको गोलचक्करमा फसेर तपाईले यो क्षेत्रलाई बिर्सिने छुट तपाईलाई छैन । अन्तराष्ट्रिय सिमा मात्र होईन नेपालका अन्य सबै नाका भन्दा बढी सभ्भावना बोकेको नाकाका रुपमा रहेको यो क्षेत्र मुलुकको दिगो बिकासमा सहयोगी बन्न सक्ने अवस्थामा छ । केही घण्टा कै अन्तरालमा तीन वटा देश पुगेर फर्कन सक्ने यो पुर्वी नाका तपाईको क्षेत्रमा भएकै कारणले पनि तपाईको कुशल नेतृत्व पायो भने यो क्षेत्रले मुलुक कै काया पलट गर्न महत्वपूर्ण भुमिका खेल्न सक्छ । त्यति मात्र होईन पत्रकार भएकाले चुनावी प्रचार अभिायनका क्रममा मैले तपाईको थुप्रै कार्यक्रमहरु हेरेको छु । तपाईले चुनाव अघि भोट माग्दै गर्दा माक्सबादको चर्चा राम्रैसंगले गर्नु भएको मैले पाएको छु । सायद यस अघि कहिल्यै चर्चा नभएको माक्सबाद यस पटक चुनावमा तपाई उम्मेद्वार भएकै कारणले यस क्षेत्रमा माक्सबादको खुबै चर्चा पनि चल्यो । चुनाव जीते लगत्तै पनि तपाईले माक्सबाद पढाउने बिद्यालय खोल्ने कुरा गर्नु भयो । मलाई यहाँनेर तपाईलाई केही भन्न मन छ । खासगरी माक्सबादका ठेलीका कुरा पढाउने कसलाई हो ? जसले बुझ्नु पर्ने हो तीनले खोजेर पनि पढछ्न तर जसलाई तपाईले भन्दै गरेको माक्सबाद बुझाएर होईन बिहान बेलुकाको छाक टार्ने सहज ब्यवस्था गर्दा त्यो नै उसका लागि माक्सबाद हुन्छ । यस क्षेत्रका जनताले तपाई माक्सबादको जानकार हो र सदनमा गएर माक्सबाद बुझाउँछ भनेर भोट दिएको कम्तीमा म चैं मान्दीन । मेरी ८० बर्षिय बुढीफुपुले तपाईलाई भोट दिएर आए पछि मैले सोधेको थिएं किन राम कार्कीलाई किन भोट दिनु भयो भन्दा उत्तर आयो भत्ता ५ हजार पु¥याउँछ रे नि त । हो सबैले आ आफ्नै ढंगबाट सोचेर तपाईलाई मतदान गरेका छन । खासगरी एमाले अध्यक्ष केपी ओलीले आफ्नो प्रधानमन्त्रीत्वको कालमा जुन सपना नेपाली जनतालाई देखाउनु भएको छ त्यसको परिणाम हो यो नतिजा र तपाई पनि त्यस भित्र पर्नु भयो । सायदै नेपाली प्रधानमन्त्रीले त्यस अघि कसैले नेपाली जनतालाई सम्बृद्धिको सपना देखाएको होस जुन केपी ओलीले देखाउनु भयो । अब तपाई जस्ता ओलीका सारथीले त्यो सपना पुरा गर्न सघाउने बेला आएको छ ।
माननिय ज्यू ,
तपाईले चर्चा गर्नु भएको माक्सबाद यस क्षेत्रका जनताको सम्बृद्धिमा रुपान्तरण गरेर देखाउनु होला । धुलाबारीबाट चन्द्रगढी जानेबाटो गुणस्तरिय कालोपत्रे हुनु हाम्रालाई माक्सबाद हो । चारआलीबाट चन्द्रगढी हुँदै केचना जाने सडकमा धुलो नउडाई यात्रा गर्न पाउनु हाम्रा लागि माक्सबाद हो । अझै पनि तपाईको क्षेत्रमा तीन हजार भन्दा बढी शौचालय बन्न बाँकी छ हो ती घरहरुमा शौचालय बन्नु माक्सबाद हो । तपाईलाई भोट दिने सैयौं जनताको आफ्नो एक टुक्रा जमिन छैन, टाउको लुकाउन बनाएको घरको खम्बा अडिएको जमिन कि त साउको नाममा छ, कि त राज्यको नालायक पनका कारण बर्षौदेखी बसे पनि अझै आफ्नो भन्न नपाएर एलानी अवस्थामा छ । त्यति मात्र होईन ऐलानी जग्गालाई धनी पुर्जा बाढ्ने थुप्रै आयोगले दिएको निकम्मा धनीपुर्जा अब चाहिएको होईन । अब बाँढीने धनीपुर्जाले भोली पल्टै बैंकमा धितो राखेर केही लगानी गर्न पाईने धनीपुर्जा बितरण प्रणाली शुरु गर्नु हाम्रा लागि माक्सबाद हो । बाहुनडाँगीबासीले जंगली हात्तीको आक्रमणबाट मुक्त भएर बाँच्न पाउनु हाम्रा लागि माक्सबाद हो । बिषादी युक्त तरकारी खाएर मासिक ५० जनाभन्दा बढीलाई क्सान्सरको महामरीले गाँज्दै गरेको जिल्लाबासीलाई आफ्नै करेशामा तरकारी बाली लगाउनु पर्छ भन्ने चेतना फैलाउने निति मेरालागि माक्सबाद हो । त्यति मात्र होईन पुर्वी नेपालका युवालाई आफ्नै ठाउँमा चिकित्सकीय अध्ययन गराउँछु भन्दा एउटा निजि संस्थाले सम्बन्धन नपाएर छटपट्टी रहनु परेको बिड्म्बना भोगिरहेको जिल्लाको बासी हुनु परेको अवस्थाबाट मुक्त गराएर हाम्रा सन्तानले घर बसी बसी डाक्डर बन्न पाउने अवस्था सृजना गर्नु मेरालागि माक्सबाद हो । त्यसैले माक्सबाद पढाउने बिद्यालय र एक लाख माक्सबादका शिक्षक उत्पादन गर्ने होईन माननिय ज्यू देश कै सर्वाधिक युवा बैदेशिक रोजगारीमा जाने जिल्लाकोबासी भएका नाताले लाखौं युवालाई मुलुक भित्र स्वारोजगार बनाएर खाडी मुलुकबाट फर्काउने शीप र लगानीमैत्री वातावरण बनाउने सम्बृद्धिको खाका ल्याउनु असली माक्सबाद हुनेछ ।   
अन्त्यमा तपाईलाई एउटा स्मरण गराउँ की आज लालबाबु पण्डीतले काँग्रेसको गढमा गएर तीनका हिमायतीलाई जनमतबाट जुन झापड हाने त्यो अरु केही नभएर छोटो समय मन्त्री हुँदा गरेको उनको काम नै हो । त्यसैले अब जनताले तपाईको माक्सबाद होईन काम खोजीरहेको स्पष्ट भैईसक्यो । तपाई पनि मन्त्री त हुनु भयो तर त्यो मन्त्री हुँदाको काम तपाईको चुनावी मुद्धा बनेन किनकी लालबाबु, जनार्दन शर्मा, गगन थापा र गोकर्ण बिष्ट जस्तो तपाईको मन्त्रीत्व काल चर्चा योग्य रहेन । त्यसैले मेरो आग्रह छ झापा क्षेत्र नं. १ ले बिगतलाई फेरि पल्टाएर तपाईलाई पनि त्यही सुचीमा राख्नु नपरोस । मेरो कामना छ ।
                                                                                                                                                         उही तपाईको शुभचिन्तक
                                                                                                                                                                        ज्ञानेन्द्र निरौला
                                                                                                                                                                  मेचीनगर–७, झापा

 

थप सामाग्री