पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

झापाका ५ मतदान केन्द्रमा महिला मात्रै

image

झापा, मंसिर २१ ।।

२ सय ८३ मतदान स्थलमा ६ सय ९२ मतदान केन्द्र रहेको झापाका ५ वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटिएका छन् । जिल्ला निर्वाचन कार्यालय झापाले जिल्लाका ५ मतदान केन्द्रमा महिला कर्मचारीलाई मात्रै खटाएको हो । ती मतदान केन्द्रमा सहायकदेखि अधिकृतसम्मका सबै कर्मचारी महिला छन् ।
ती ५ वटा मतदान केन्द्रमा सुरक्षाकर्मी पनि महिला नै परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले जानकारी दिनु भयो । ‘पहिले महिलाहरुलाई यसरी कमै मात्र खटाइन्थ्यो, स्थानीय तह निर्वाचनदेखि महिलामैत्री मतदान केन्द्रको अवधारणा अघि सारिएको हो,’ वहाँले भन्नु भयो, ‘त्यो बेला २ वटा मतदान केन्द्र मात्रै महिलाको जिम्मामा थिए, अहिले ५ वटा मतदान केन्द्रमा महिलाको नेतृत्वमा सबै महिला कर्मचारी खटाएका छौँ ।’
आचार्यका अनुसार, क्षेत्र नम्बर ३ स्थित मेची रंगशालाका २, क्षेत्र नम्बर २ अन्तर्गत बिर्तामोड नगरपालिका कार्यालयका २ र क्षेत्र नम्बर ५ अन्तर्गत दमक नगरपालिका कार्यालयको एउटा मतदान केन्द्रमा महिला कर्मचारी खटिएका छन् ।

अघिल्ला निर्वाचनहरुमा मतदान केन्द्रको जिम्मेवारी दिँदा महिला पुरुष दुबै कर्मचारीलाई मिलाएर दिने गरिएको थियो । तर, गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनदेखि महिलालाई मात्रै पनि मतदान केन्द्रको जिम्मेवारी दिन थालिएको हो ।

बिर्तामोड नगरपालिकामा रहेका दुई वटा मतदान केन्द्रमा नमुना निरौला र सुनिता आचार्य, सदरमुकाम चन्द्रगढीस्थित मेची रङ्गशालामा रहेका दुई वटा मतदान केन्द्रमा क्रमशः गीताकुमारी राई र अम्बिका श्रेष्ठले महिला कर्मचारीको अगुवाई गरेका छन् । झापाको दमक नगरपालिकामा रहेको एउटा मतदान केन्द्रमा जमुना कार्कीको नेतृत्वमा महिला कर्मचारीको टोली खटाइएको छ ।

मतदान केन्द्रको नेतृत्व गरेका महिला अधिकृतले सधैँ पुरुषको सहायताले मात्रै जिम्मेवारी पूरा हुन्छ भन्नेमा सत्यता नरहेको भन्दै तोकिएको जिम्मेवारीलाई अवसर र चुनौतीका रुपमा लिएको बताएका छन् ।

‘जिम्मेवारी पाउँदा हामीलाई पनि खुशी लागेको छ, महिलाले उदाहरणीय काम गर्न सक्छन् भन्ने देखाउन हाम्रो प्रयास रहनेछ,’ मेची रंगशालाको ‘ख’ मतदान केन्द्रकी अधिकृत अम्बिका श्रेष्ठले भन्नु भयो, ‘हामीलाई काम गर्न पनि सहज नै छ, सफलतापूर्वक जिम्मेवारी पूरा गर्नेर्छौँ ।’

स्थानीय तह निर्वाचनका बेला सदरमुकाम चन्द्रगढीस्थित मेची रङ्गशालामा रहेको मतदानस्थलका दुई वटा केन्द्रमा महिला कर्मचारी मात्रै परिचालन गरिएका थिए । सहायकदेखि मतदान अधिकृतसम्मका कर्मचारी मात्रै होइन, त्यहाँ खटिने म्यादी प्रहरी पनि महिला मात्रै थिए ।
मेची रङ्गशालामा परिचालन गरिएका महिला कर्मचारीले सफलतापूर्वक जिम्मेवारी निर्वाह गरेकाले यसपटक प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा जिल्लाका पाँच वटा मतदान केन्द्रमा महिला मात्रै खटाइएको हो । यसबाहेक झापाका एकसय ४५ मतदान केन्द्रमा महिला अधिकृतको नेतृत्वमा निर्वाचन टोली परिचालन गरिएको छ ।

 

थप सामाग्री