पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

त्रिफलाको अध्यक्षमा पुनः फलहारी

image

धुलाबारी । 
प्रेम प्रकाश फलहारीलाई पुनः अध्यक्षमा चयन गर्दै त्रिफला राष्ट्रिय पुस्तकालयको २१ औँ साधारणसभा सम्पन्न भएको छ । त्रिफलाकै सभाहलमा सम्पन्न साधारणसभाले फलहारीको नेतृत्वमा १५ सदस्यीय नया कार्यसमिति निर्माण गरेको हो ।

नवनिर्वाचित सदस्यहरुमा राम प्रसाद दाहाल, गणेश पोखरेल, कुलबहादुर भण्डारी, उमा पाण्डे, मात्रिका संग्रौला लगायत रहेका छन । निर्वाचित हुन बाँकी रहेका अन्य पदहरु उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष भने नवनिर्वाचित समितिको पहिलो बैठकले मनोनित गर्ने बताइएको छ । 

जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको उद्घाटन सत्रमा त्रिफला राष्ट्रिय पुस्तकालयले विगत देखी हाल सम्म पार गरेको आरोह अवरोह समेटिएको कृति त्रिफला दर्पण विमोचन गरिएको थियो । प्रमुख अतिथि बरालले सो कृति विमोचन गर्नुभएको थियो ।

त्यसैगरी विभिन्न साहित्यकार तथा लेखकहरुले लेख्नुभएको यात्रा संस्मरण, भारतीय नेपाली बाल साहित्य, केही व्यक्ती अनि केही व्यक्तित्वहरु लगायतका ११ वटा कृति विमोचन गरिएको थियो । त्रिफला दर्पण प्रकाशनका प्रायोजक वैद्य लक्ष्मी प्रसाद चापागाँई, सह प्रायोजक कमला न्यौपाने र राजेन्द्र संग्रौलालाई पनि कार्यक्रमका बीच सम्मान गरिएको थियो ।

पुस्तकालयका अध्यक्ष फलहारीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्ट, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य यज्ञराज प्रसाई, साहित्यकार नसुह प्रसाई, शिक्षक महासंघ झापाका अध्यक्ष तेजप्रसाद चौलागाँई, मेचीनगर लेडी जेसीजका संस्थापक अध्यक्ष कविता शर्मा, कवि केशवराज खनाल लगायतको उपस्थिति रहेको थियो ।

पुस्तकालयका महासचिव विनोद खनालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन हरिप्रसाद रिमालले गर्नुभएको थियो ।