पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मेचीनगरको बिकासका लागि ब्यवशायीले बुझाए ११ बुंदे अवधारणा पत्र (अवधारणा पत्रको पूर्ण पाठ सहित )

image

ब्यवशायीहरुसंगको छलफलमा नगरप्रमुख आचार्य र उपप्रमुख उप्रेती ।

धुलाबारी, असार ३ ।।
मेचीनगर क्षेत्रका उद्योगी ब्यवशायीहरुले नगरको आर्थिक बिकास र सम्बृद्धिका लागि अवधारणा पत्र नगरपालिकालाई बुझाएका छन । उद्योगी ब्यवशायीहरुको छाता संस्था मेची उद्योग वाणिज्य संघले आज एक कार्यक्रमको आयोजना गरी मेचीनगरको वृहत्तर विकासका लागि निजीक्षेत्रको तर्फबाट तयार पारिएको अवधारणा–पत्र कार्यान्वयनका लागि नगरप्रमुख बिमल आचार्यलाई बुझाएको हो ।


वाणिज्य संघको सभा कक्ष धुलाबारीमा आयोजित मेचीनगरको आर्थिक बिकास र सम्बृद्धि सम्बन्धमा अन्तरक्रिया कार्यक्रममा निजी क्षेत्रको तर्फबाट तयार पारिएको ११ बुंदे अवधारणा पत्र नेपाल उद्योग वाणिज्य महासंघका १ नम्बर प्रदेश अध्यक्ष नरेन्द्र खड्का, मेची उद्योग वाणिज्य संघका अध्यक्ष पंकज बिक्रम नेम्बाङ्ग, ब्यवशायीहरु बिजय डालमिया, संघका महासचिव ऋषिराज तिम्सिना लगायतले संयुक्त रुपमा नगरप्रमुख बिमल आचार्यलाई हस्तान्तरण गरेका थिए । ब्यवशायीका तर्फबाट बुझाएको अवधारणा पत्रमा स्मार्ट सिटिको अवधारणा, साप्ताहिक हाट बजारको ब्यवस्थापन, कोशेली घर स्थापना र सञ्चालन, ब्यवशायीको दुघटना बिमा, मेची आम्दा अस्पतालको सञ्चालन तथा स्तरोन्नती लगायतका बिषय बस्तुहरु समावेश गरिएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष पंकज बिक्रम नेम्बाङ्गले जानकारी दिए ।


कार्यक्रममा बोल्दै नगरप्रमुख बिमल आचार्यले नगरको सर्वाङ्गीण बिकासका लागि आगामी योजना केन्द्रीत हुने बताएका छन । चालु आर्थिक बर्षमा हतारमा काम गर्नु परेकाले पनि केही कमी कमजोरी भएको स्वीकार गर्दै नगरप्रमुख आचार्यले आगामी दिनमा त्यस खालको कमजोरी सच्याएर जनमुखी सेवामा समर्पित हुने बताए । प्रमुख आचार्यले भने–“आगामी बर्षको बजेटमा भौतिक पुर्वाधार, पर्यटन बिकास, कृषी आधुनिकिकरण, गुणस्तरिय शिक्षा तथा खेदकुद बिकास लगायतका क्षेत्रमा बजेट छुट्याएर काम गर्ने योजना छ ।”
कार्यक्रममा नगर उपप्रमुख मिना उप्रेतीले आम नगरबासीको हितमा काम गर्न कन्जुस्याई नगर्ने बताईन । उपप्रमुख उप्रेतीले बिकासका कामका लागि दलगत स्वार्थ भन्दा माथी उठेर योजना बनाउने बताईन ।

अन्तरक्रिया कार्यक्रममा ब्यवशायीहरुका तर्फबाट लक्ष्मीप्रसाद उप्रेती, दिनेश शाक्य, राधा कार्की, ललित अग्रवाल, बसन्त तिवारी लगायतले नगरबिकासका लागि नीजी क्षेत्रको समेत सहयोग आवश्यक रहेकाले त्यस तर्फ समेत बिषेश ध्यान दिएर नीजी बनाउन समेत नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।


मेची उद्योग वाणिज्य संघका अध्यक्ष पंकजबिक्रम नेम्वाङ्गको सभापत्विमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष नरेन्द्र खड्का, संघका पुर्व अध्यक्ष बिजय डालमिया लगायतले नीजी क्षेत्रको साझेदारीमा नगर बिकासका योजना अगाडी बढाउन नगर प्रमुख र उपप्रमुखलाई सुझाव दिएका थिए । कार्यक्रम संघका महासचिव ऋषिराज तिम्सिनाको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

मेची उद्योग वाणिज्य संघका तर्फबाट नगरपालिकालाई बुझाईएको अवधारणा पत्रको पुर्ण पाठ ।

 

                                                                                                                                             २०७५/०३/०३

श्रीमान नगरप्रमुखज्यू,
मेचीनगर नगरपालिका
इटाभट्टा, झापा

विषयः– मेचीनगरको आर्थिक विकास एवं समृद्धिका लागि प्रस्तुत अवधारणा–पत्र ।

महोदय,
उपरोक्त विषय अनुसार मेचीनगरको वृहत्तर विकासका लागि निजीक्षेत्रको तर्फबाट तयार पारिएको अवधारणा–पत्र निम्न बुंदाहरुमा तयार गरि सो को आवश्यक कार्यान्वयनका लागि हार्दिक अनुरोध गर्दछौं ।

मेचीनगरको आर्थिक विकास र समृद्धिका लागि मेची उवासंघद्वारा प्रस्तुत गरिएको अवधारणा–पत्र
 

१)     स्मार्ट सिटीको अवधारणा : विगतमा हङ्गकङ्ग मार्केटको उपनाम पाएको मेचीनगरको धुलाबारी बजार हाल सुनसान अवस्थामा परिणत भएको छ । अतः धुलाबारी बजारलाई पूनः पूर्ववत अवस्थामा फर्काउने उद्देश्यले स्मार्ट सिटीको अवधारणा अनुरुप यस बजारक्षेत्रमा आधुनिक प्रविधियूक्त पूर्वाधार निर्माण सहित आवश्यक पार्किङ्ग स्थल, सौचालय लगायतको व्यवस्था गर्नुपर्ने देखिन्छ । साथै मेचीनगरका अन्य बजारक्षेत्रहरु चालआली, धाइजन, इटाभट्टा, काकरभिट्टा लगायतका क्षेत्रमा आवश्यक पार्किङ्ग, सौचालय लगायतका पूर्वाधारहरुको विकास गर्नु जरुरी देखिएको छ ।  
२)     साप्ताहिक हाटबजारको व्यवस्थापन : मेचीनगरका मुख्य बजारहरुमा अव्यवस्थित रुपमा बढ्दै गएको पूmटपाथ व्यवसायका कारण नगरको सौन्दर्यमा समेत प्रतिकुल असर परेको छ भने नियमानुसार प्रकृया पुरा गरि राजश्व दाखिला गर्ने व्यवसायीहरुको व्यवसायमा समेत असर गरेको पाइन्छ । अतः अव्यवस्थित पूmटपाथलाई हटाई खुद्रा व्यवसाय गर्ने साना व्यवसायीलाई व्यवस्थित साप्ताहित एवं दैनिक बजारस्थलको व्यवस्था गर्नेतर्फ आवश्यक पहल हुन जरुरी देखिएको छ ।
 

३)     कोशेली घर स्थापना र संचालन : नेपालको सुदुरपूर्वमा अवस्थित यस मेचीनगर नगरपालिका भारत, वंगलादेश, भुटान लगायत अन्य मुलुकबाट नेपाल भित्रिने तथा नेपाल भ्रमण पश्चात बाहिरिने स्थल रहेकोले पर्यटकहरुको आकर्षणका लागि नेपाली मौलिक कला, संस्कृति, परम्परा झल्काउने वस्तुहरु तथा स्वदेशमा उत्पादिन हस्तकला सामग्रीका साथै कृषि उपजहरुको स्थायी प्रदर्शनी एवं खरिद बिक्रीका लागि मेचीनगर क्षेत्रमा एक कोशेली घर निर्माण हुन जरुरी देखिएको छ ।

४)     व्यवसाय कर साझेदारी कार्यक्रम : मेचीनगर क्षेत्रबाट संकलन गरिने व्यवसाय कर संकलन तथा व्यवस्थापनका लागि मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य संघबीच आ.व. २०६४÷०६५ मा सम्झौता सम्पन्न भई वर्षैनी सम्झौता नविकरण भएतापनि साझेदारी वापत मेची उद्योग वाणिज्य संघलाई संकलित करको १५५ रकम उपलव्ध गराउने सहमति भएतापनि नगरपालिकाबाट हालसम्म संघले आफ्नो हिस्सा प्राप्त गर्न सकेको छैन । अतः हालसम्म यस संघले प्राप्त गर्ने साझेदारी रकम उपलव्ध गराई मेचीनगर क्षेत्रका उद्योग व्यवसायहरुलाई समेटी व्यवसाय कर संकलनको कार्यलाई थप प्रभावकारी ढंगबाट अघि बढाउन साथै व्यवसाय दर्ता हुन बाँकी रहेका व्यवसायीलाई करको दायरामा ल्याउनका लागि मेचीनगर नगरपालिकाको तर्फबाट तत्काल ठोस कदम अघि बढाउन जरुरी देखिन्छ ।
 

५)     व्यवसायी दुर्घटना बीमा कार्यक्रम : मेचीनगर नगरपालिकामा उद्योग, व्यवसाय संचालन गर्दै आएका उद्यमी, व्यवसायीहरुका लागि व्यक्तिगत दुर्घटना वीमा गराउने विषयमा यस संघ र मेचीनगर नगरपालिकाबीच पटक÷पटक छलफल भई कार्य अघि बढाउने भन्ने आश्वासन प्राप्त हुँदै आएको भएतापनि उक्त कार्यले हालसम्म पूर्णता प्राप्त गर्न नसकेकोले दर्ता भई व्यवसाय संचालन गर्दै आएका उद्यमी÷व्यवसायीलाई कर तिर्नका लागि थप प्रेरित गर्न साथै नयाँ व्यवसायीलाई दर्ता हुन आकर्षित गर्न प्रभावकारी बन्नसक्ने सो कार्यक्रमलाई पूर्णता दिनका लागि नगरपालिकाको तर्फबाट आवश्यक बजेट विनियोजन सहित कार्यान्वयका लागि तत्काल पहल हुन जरुरी देखिएको छ ।
 

६)     व्यवसायिक अक्षयकोष : मेचीनगर नगरपालिकामा व्यवसाय गर्नका लागि नेपाल सरकारको नियमानुसार दर्ता प्रकृया पुरा गरि उद्योग÷व्यवसाय संचालन गर्दै आएका उद्यमी÷व्यवसायीहरुको उद्योग, व्यवसायमा प्राकृतिक प्रकोप (बाढि, पहिरो, आगलागी आदि) का कारणबाट हुनसक्ने क्षति वापत राहत उपलव्ध गराउने उद्देश्यले यस संघद्वारा व्यवसायी राहत कोषको व्यवस्था गरि पीडित व्यवसायीलाई राहत उपलव्ध गराउने कार्यको प्रारम्भ गरिएको छ । यस संघको आन्तरिक श्रोत अन्तर्गत रु. १० लाखबाट प्रारम्भ गरिएको यो कोषलाई भविश्यमा रु. १ करोड पु¥याउने योजना रहेको छ । उद्यमी÷व्यवसायीहरुको हक, हितका लागि नगरपालिकाको तर्फबाट समेत उक्त कोषका लागि यथोचित सयहोग गर्ने प्रतिवद्धता व्यक्त भएको भएतापनि हालसम्म कार्यान्वयन नभएकोले व्यवसायी राहत कोषका लागि आवश्यक बजेट विनियोजनको व्यवस्थाका लागि अनुरोध छ ।
 

७)    आधुनिक कृषि प्रणालीको विकास तथा कृषिमण्डी स्थापना : मेचीनगरमा रहेको कृषियोग्य जमिनमा जिविकोपार्जनका लागि मात्र गरिने परम्परागत खेतीलाई आधुनिक प्रविधियुक्त बनाउनका लागि उन्नत जातका धान, मकै, गहुँ, तरकारी खेतिको विकासका लागि आवश्यक कार्यक्रम बनाइ कार्यान्वयन तहमा लैजानुपर्ने देखिन्छ । साथै कृषकले उत्पादन गरेका अन्न, तरकारी, पशुपक्षी तथा दुध लगायतका कृषि उपजहरुको उचित एवं स्थायी  बजारको व्यवस्था गरिनु जरुरी देखिन्छ ।


साथै कृषि उपजको उचित व्यवस्थापन एवं भण्डारणका लागि मेचीनगर क्षेत्रमा सुविधायुक्त शित भण्डार तथा आधुनिक कृषिमण्डी स्थापनाका लागि तत्काल पहल गरिनुपर्ने ।
 

८.    पर्यटकिय स्थलहरुको संरक्षण÷प्रवद्र्धन : यसैगरी मेचीनगर नगरपालिकालाई पर्यटकिय गन्तव्य स्थलको रुपमा विकास गर्न भ्रमणका लागि आउने आन्तरिक एवं वाह्य पर्यटकहरुको आकर्षण बन्न सक्ने मेचीनगर तथा आसपासका ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व रहेका स्थलहरु जस्तै पातालगंगा, कृष्णथुम्की, बाँसबारी पर्यटकिय क्षेत्र, कालिका सिमसार, मिनी माउण्टेन लगायतका स्थानहरुसम्म पुग्ने सडक तथा अन्य पुर्वाधारहरुको विकासका साथै उक्त स्थलहरुको प्रवद्र्धन हुने खालका दिर्घकालिन योजनाहरु तयार गरी कार्यान्वयन गर्नु जरुरी देखिएको छ ।
 

९)    आम्दा मेची अस्पताल : स्थानीय स्तरमा भरपर्दो उपचार सेवाको अभावमा मेचीनगर लगायत यसक्षेत्रका वासिन्दाहरु महंगा भारतिय क्लिनिक तथा अन्य क्षेत्रका अस्पतालहरुमा जानुपर्ने वाध्यतालाई केहि हदसम्म समाधान गर्नका लागि मेचीनगर–१०, धुलाबारीमा मेचीनगर नगरपालिका, मेची उद्योग वाणिज्य संघ तथा आम्दा नेपालको सहभागितामा निर्माण तथा संचालन गरिंदै आएको आम्दा मेची अस्पतालको स्तर वृद्धि तथा थप संरचना निर्माण सहित भरपर्दो उपचार सेवा संचालनका लागि मेचीनगर नगरपालिकाबाट सो अस्पताललाई क्षेत्रिय अस्पतालको रुपमा विकसित गर्नका लागि आवश्यक पहल हुन जरुरी देखिएको छ ।
 

१०)     प्लाष्टिकजन्य वस्तुको प्रयोगलाई निषेध : प्लाष्टिक तथा पोलिप्रोपिलिन झोलाको प्रयोगबाट मानवस्वास्थ्य, वातावरण र शहरी सौन्दर्यतामा पर्ने प्रतिकूल प्रभावलाई अन्त्य गर्न प्लाष्टिक तथा पोलिप्रोपिलिन झोला आयात, निर्यात, बिक्रि, वितरण र उपयोग गर्न नपाइने कानुनी ब्यवस्था रहेको भएतापनि नगरक्षेत्रमा प्लाष्टिकको प्रयोग बढ्दो अवस्थामा रहेको छ । अतः कानुनले समेत निषेध गरेको प्लाष्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गर्नका लागि मेचीनगर नगरपालिकाको तर्फबाट यस संघको समेत सहभागिता गराई नियमित अनुगमन तथा कारबाहिको कार्यलाई तदारुकताका साथ अघि बढाउन जरुरी देखिएको छ ।
 

११)    रोजगारी सृजना सहित आय आर्जन सम्बन्धि कार्यक्रम :  नगरवासीको आर्थिक स्तर वृद्धि गर्ने खालका रोजगारमुलक उद्योग व्यवसाय स्थापना र संचालनका लागि उद्यमी व्यवसायीलाई प्रोत्साहन गर्ने साथै एक गाउँ एक उत्पादन जस्ता कार्यक्रम संचालनका लागि सम्भावित क्षेत्रहरु निर्धारण गरि कार्यक्रम छनौट एवं संचालनका लागि समेत मेचीनगर नगरपालिकाबाट आवश्यक पहल हुन जरुरी देखिएको छ ।