पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेडियो साथी प्रसारणमा आउने

image

पत्रकार सम्मेलनमा रेडियो साथीका अध्यक्ष पुनम प्रधान, कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौला र सदस्य नवराज प्रधान ।

काकरभिट्टा, असार ३ ।।

झापाको काकरभिट्टाबाट नयाँ एफ एम रेडियो सञ्चालन हुने भएको छ । रेडियो साथीको नामबाट आगामी साउनको अन्तिम हप्ताबाट प्रसारण शुरु गर्ने आईतबार आयोजित पत्रकार सम्मेलनमा रेडियो साथीका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले जानकारी दिए ।
सामुदायिक सुचना तथा सञ्चार केन्द्र नेपाल नामक गैरसरकारी संस्थाले सञ्चालन गर्न लागेको प्रसारण क्षमता ५०० वाट रहेको र रेडियो ९८.६ मेगाहर्जमा सुन्न सकिने निर्देशक निरौलाले बताए ।

मेचीनगर–६ काकरभिट्टा स्थीत नवआदर्श टोलमा प्रसारण केन्द्र रहने रेडियो साथी सञ्चालनका लागि करीब ३० लाख खर्च हुने रेडियो सञ्चालन गर्ने संस्था सामुदायिक सुचना तथा सञ्चार केन्द्र नेपालका कोषाध्यक्ष तथा रेडियो साथीका सदस्य नवराज प्रधानले पत्रकार सम्मेलनमा जानकारी गराए ।

लामो समयदेखी ब्यवशायिक रुपमा स्वास्थ्य क्षेत्रमा क्रियाशिल भईरहँदा आम सञ्चार माध्यमले समाज परिवर्तनमा सकारात्मक भुमिका खेल्न सक्ने महशुस गरेर नै सामाजिक सेवाका क्षेत्रमा समेत काम गर्ने उद्धेश्यका साथ सामाजिक संस्था मार्फत रेडियो सञ्चालन गर्न लागिएको रेडियो साथीका अध्यक्ष पुनम प्रधानले बाताईन ।

जिल्ला प्रशासन कार्यालय झापामा २०७४ चैत २१ गते दर्ता भएको सामुदायिक सुचना तथा सञ्चार केन्द्र नेपाल संस्थाले सञ्चार तथा सुचना प्रविधि मन्त्रालयबाट २०७५ बैशाख २७ गते ५०० वाट क्षमताको रेडियो प्रसारणको ईजाजत पत्र प्राप्त गरेको रेडियोका कार्यकारी निर्देशक निरौलाले बताए ।

रेडियो साथीले स्थानीय बिषय बस्तुलाई प्रसारणको केन्द्रमा राख्ने अध्यक्ष प्रधानले बताईन । स्थानीय सरोकारका स्वास्थ्य, शिक्षा, पर्यावरण, भौतिक निर्माण लगायत आम नागरिकको संर्घष, खुसी र पीडामा यो रेडियो एउटा असल साथीको रुपमा प्रस्तुत हुने कार्यकारी निर्देशक निरौलाले दाबी गरे ।

यस क्षेत्रका शहर बजारदेखी विपन्न तथा विकट गाँउहरुसम्म सुचना तथा अन्य गतिबिधिको जानकारी गराउन यो रेडियो साथीले सेतुको काम गर्ने निर्देशक निरौलाले बताए । तमाम सामाजिक विकृती, विसंगती, अन्धविश्वास र कुरीतिको विरुद्धमा यो रेडियो उभिनेछ तथा युवा पुस्ताका लागि यो रेडियो आकर्षण र आदर्शका रुपमा स्थापित हुने निरौलाले पत्रकार सम्मेलनमा बताए । “आवाज बिश्वासको” भन्ने उद्घोषका साथ समुन्नत र सभ्य समाज निर्माणका लागि रेडियो साथी सदैब प्रयत्नशील रहने अध्यक्ष प्रधानले बताईन ।

 

थप सामाग्री