पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

झापा काङ्ग्रेसले तयार पार्यो विधान संशोधन प्रस्ताव

विर्तामोड । आगामी असार पहिलो साता हेटौँडामा हुने नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय सम्मेलनमा पेश गरिने विधान संशोधन सम्बन्धी पेश गरिने प्रस्तावमाथि आइतवार झापामा क्षेत्रगत रुपमा छलफल गरिएको छ ।

पाँचवटै क्षेत्रीय समितिमार्फत समूहगत रुपमा छलफल गराई प्राप्त सुझावलाई अन्तिम रुप दिन मस्यौदा समिति संयोजक पार्टी जिल्ला उपसभापति राम कट्टेललाई जिल्ला पार्टी सभापति उद्धव थापाले हस्तान्तरण गरेका छन् ।

सङ्कलित सुझावलाई संयोजक राम कट्टेल, सदस्यहरु लोकराज ढकाल, कृष्ण हुमागाई, सुरज खत्री, पुष्प पौडेल, राजन ढुङ्गाना र शर्मिला अधिकारी रहेको प्रस्ताव मस्यौदा समितिले जेठ मसान्तभित्र अन्तिम रुप दिनेछ ।

प्राप्त सुझावमा पार्टी विधानलाई सङ्घीय संरचनामा अविलम्ब लगिनुपर्ने, साधारण र क्रियाशील सदस्यको बीचमा सङ्गठित सदस्यको प्रावधान राखिनुपर्ने, सङ्घीय ढाँचाको निर्वाचन प्रणाली र प्रतिनिधि छनौट प्रक्रिया अवलम्बन गरिनुपर्ने लगायतका सुझाव रहेका छन् ।

जिल्ला पार्टी कार्यालयमा आयोजित समारोहलाई नेपाली काङ्ग्रेस पूर्व सांसद सुधिरकुमार शिवाकोटी, अग्रज नेता पूर्णानन्द शर्मा, सांसद महेन्द्राकुमारी लिम्बू लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  

जिल्ला सभापति उद्धव थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति राम कट्टेलले स्वागत तथा सञ्चालन सचिव प्रेम सम्बाहाम्फेले गरेका थिए ।