पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सन्दीपमय बनेको आइपीएल

image

सन्दीपले अविश्वनीय प्रदर्शन गरेर विश्वलाई आफुतिर आकर्षित गर्न सफल भएका छन् । मुम्बई इण्डियन्स बिरुद्धको खेलमा सन्दीपले माथिल्लोक्रमका ३ जना धुरन्धर व्याट्सम्यानलाई पवेलियनको बाटो देखाए ।

 

विश्व क्रिकेटको सर्वाधिक ख्याती कमाएको प्रतियोगिताका रुपमा चिनिएको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा पहिलो नेपाली खेलाडीका रुपमा अनुबन्ध भएसँगै लेग स्पीनर सन्दीप लामिछानेको चर्चा चुलिएको छ ।

दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय रकममा अनुबन्ध गरेपछि विश्वभरका क्रिकेट पण्डितहरुले सन्दीपको बलिङ कौशलका बारेमा चर्चा सुरु गरेका थिए । आइपीएलमा अनुबन्ध भएपछि उनले खेल्न पाउने हुन या होइनन् भन्ने कुरा सर्वत्र चासोका रूपमा हेरिएको थियो । सन्दीप मैदान उत्रिहाले भने उनको खेल कस्तो हुने हो भन्ने जिज्ञासा थियो । अन्ततः करिब एक महिनाको बेञ्चमा बसाइपछि दिल्ली डेयर डेभिल्सले आफ्नो १२ औँ म्याचमा सन्दीपलाई मैदानमा उता‍रो । जतिबेला सन्दीप मैदान उत्रिएका थिए, त्यसबेलासम्म दिल्ली प्रतियोगिताको अघिल्लो चरण नपुग्ने निश्चित भइसकेको थियो । त्यसैले दिल्लीका लागि गुमाउनु केही थिएन ।

प्रतियोगिताको अघिल्लो चरण प्रवेश रोक लागि सकेपछि बेञ्चमा बसेका खेल्न बाँकी खेलाडीलाई मौका दिने योजना बनाएको दिल्लीले घरेलु फिरोजसाह कोटला मैदानमा बिराट कोहलीको कप्तानीमा रहेको रोयल्स च्यालेञ्चर बैङ्लोरसँगको प्रतिस्पर्धामा सन्दीपलाई मैदान उतारो । जे जसरी मौका पाए पनि आइपीएल जस्तो विश्वस्तरीय प्रतियोगितामा खेल्न पाउनु सन्दीपका लागि निक्कै ठुलो अवसर थियो । आइपीएलमा डेब्युसँगै सन्दीप आइपीएल खेल्ने सबैभन्दा कम उमेरका विदेशी खेलाडीको सूचीमा दोस्रो नम्बरमा परेका छन् ।

रोयल च्यालेन्जर बैङ्ग्लोर (आरसीबी) विरुद्धको म्याचमा पहिले ब्याटिङ गर्दै दिल्लीले १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य डिफेन्ड गर्न दिल्लीका कप्तान श्रेयस एैयरले सन्दीपलाई नै बलिङ आक्रमणको सुरुआत गर्न दिए । जबकी, उनकै टिममा पनि ट्रेन्ट बोल्ट, अमित मिश्राजस्ता विश्वकै धारिला बलर थिए ।

पहिलो ओभरबाटै कसिलो बलिङ गरेका सन्दीपले आफ्नो दोस्रो स्पेल फाल्ने क्रममा ओभरको चौथो बलमा आरसीबीका ओपनर पार्थिव पटेललाई एलबीडब्लुको धरापमा पार्न सफल भए । उनको त्यो सफलताले रङ्गशालामा उपस्थित करिब ३५ हजार घरेलु दर्शक त खुसी भए नै त्यसभन्दा पर टेलिभिजनको पर्दामा प्रत्यक्ष प्रसारण हेरिरहेका नेपालीलाई गौरवशाली खुसी दिलायो । पूरै म्याचमा उनले ४ ओभर फाल्दै १ विकेट लिएर २५ रन मात्र दिएका थिए ।

विराट कोहली र एबी डिभिलियर्सजस्ता विस्फोटक र विश्व चर्चित व्याट्सम्यानले पनि रन बनाउन निक्कै मुश्किल बनाएका सन्दीपको पहिलो खेलमा गरेको बलिङले उनी आगामी खेलका लागि दिल्लीका नियमित खेलाडी हुने कुरामा कुनै अप्ठ्यारो नहुने सङ्केत गरिसकेको थियो ।

सन्दीपको बलिङ देखेर टेलिभिजनमा अङ्ग्रेजी कमेन्ट्री गरिरहेका क्रिकेटका पूर्व खेलाडी डेनी मोरिसनले सन्दीपले नयाँ प्रतिभाको रुपमा विश्व क्रिकेटमा वर्चश्व जमाउने भविष्यवाणी गरिरहेका थिए । मोरिसनले त यतिसम्म भन्न भ्याए कि सन्दीपले फालेको गुगली बल बिश्वका ख्याती प्राप्त ब्याट्सम्यानका लागि पनि चुनौती हुनेछ ।

सन्दीपको खेललाई नजिकबाट नियालिरहेका भारतीय पूर्वक्रिकेटर मनिन्दर सिंहले भने, ‘सन्दीपको बलिङ स्टाइल, लाइनअप र एक्सन गज्जबको रहेछ । सबैभन्दा महत्वपूर्ण कुरा उनी कुनै पनि दबाबमा परेनन् । उनमा विश्वस्तरीय खेलाडी बन्ने क्षमता देखिन्छ ।’

उक्त म्याचमा दिल्ली पराजित भएपनि सन्दीपका लागि ऐतिहासिक बन्न पुग्यो । टिमका लागि उत्कृष्ट बलिङ गरेबापत पोस्ट म्याच पत्रकार सम्मेलनमा पनि दिल्लीले सन्दीपलाई नै अवसर दिएको थियो । पत्रकार सम्मेलनमा उनले दिएको जवाफ र देखाएको आत्मविश्वास साँच्चिकै हेर्न लायक थियो । उनी अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभवी खेलाडीसरह पत्रकारसामु प्रस्तुत भएका थिए ।

त्यसपछि महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ (सिएसके) बिरुद्धको खेलमा पनि दिल्लीको प्लेइङ ११ मा सन्दीपको नाम पर्न सफल भयो । उक्त खेलमा धोनी, सरेश रैना, अजय जडेजा जस्ता विश्वस्तरीय खेलाडीहरुले सन्दीपको बलमा रन बनाउन सकेनन् ।

आफ्नो दोस्रो ओभरको चौथो बलमा सन्दीपको गुगलीलाई राम्ररी पढ्न नसकेपछि सुरेश रैना एलबिडब्लु धरापमा परेर आउट भए । उक्त खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चिएर एक विकेट लिए । उक्त खेलको प्रदर्शन आइपीएलमा कुनै पनि लेग स्पीनरले गरेको अहिलेसम्मकै सबैभन्दा किफायती बलिङ थियो । दोस्रो खेलमा गरेका प्रदर्शन पछि सन्दीप नै चर्चाको केन्द्र बिन्दुमा रहन पुगे । खासगरी क्रिकेटका पूर्व खेलाडीहरुले सन्दीपको प्रतिभालाई दिल्लीले सुरुवाती खेलमा लुकाएर राख्नुले नै दिल्लीको प्रदर्शन कमजोर भएको बताएका थिए । क्रिकेटका पूर्व हस्तीहरुले सन्दीपले दिल्लीको सुरुवाती खेलमा नै स्थान पाउनु पर्ने रहेता पनि दिल्लीले प्रतिभा चिन्न नसकेको भन्ने आरोप समेत लगाउन थालेका छन् ।

प्रतियोगिता अन्तर्गतको दिल्लीको १४ औँ तथा अन्तिम खेल जुन सन्दीपका लागि आइपीएलको तेस्रो खेल थियो अघिल्लो वर्षको विजेता टिम मुम्बई इण्डियन्स बिरुद्धको खेल । बिगतको दुई खेलपछि सन्दीपप्रति दिल्लीका कप्तान श्रेयस ऐयरको आशा त छदै थियो, त्यस बाहेक दिल्लीका समर्थक र सन्दीकका ब्यक्तिगत समर्थकहरुमा पनि अन्तिम खेलमा सन्दीपले केही राम्रो गर्ने आशा थियो ।

तेस्रो खेलमा त सन्दीपले अविश्वनीय प्रदर्शन गरेर विश्वलाई आफुतिर आकर्षित गर्न सफल भए । मुम्बई इण्डियन्स बिरुद्धको खेलमा सन्दीपले माथिल्लोक्रमका ३ जना धुरन्धर व्याट्सम्यानलाई पवेलियनको बाटो देखाए । पछिल्ला खेलमा भन्दा केही बढी रन दिएका सन्दीपले ३ विकेट लिएपछि त्यो खेल पूरै सन्दीपमय बन्यो । उक्त खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चेर ३ विकेट लिएका थिए । भारतलाई पहिलो पटक विश्वकप दिलाउने कप्तान तथा पूर्व भारतीय महान् व्याट्सम्यान कपिलदेवले टेलिभिजनमा हिन्दी कमेन्ट्री गर्दै सन्दीपका बारेमा भने, ‘विश्व क्रिकेटमा शेर्न वार्न पछि अर्को जादुगरको जन्म भयो ।’

पहिलो आइपीएल प्रतियोगितामा सन्दीपको समग्र प्रदर्शन उत्कृष्ट रह्यो । सन्दीपले ३ खेलमा १२ ओभर बलिङ गर्दै ६.८३ को औसतमा ८२ रन खर्चेर ५ विकेट लिएका छन् । यो प्रदर्शनका हिसाबले समकालीन बलरहरुमा उत्कृष्ट बलरका रुपमा सन्दीपले विश्वक्रिकेटमा आफ्नो नाम लेखाएका छन् ।

आफ्नो प्रदर्शनबाट विश्वसामु नेपाललाई परिचित गराएका सन्दीपको उत्कृष्टतालाई थप उचाइमा पुर्याउन मद्दत गर्नु राज्यको प्रमुख दायित्व हो । नेपालमा क्रिकेट विकासको जिम्मा पाएको क्यान आफैँ केही वर्षदेखि आन्तरिक किचलोमा फसेको छ । यतिका वर्षसम्म नेपालमा क्रिकेटका लागि कुनै ठोस कार्य अघि बढ्न नसक्नुले पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा अवसर नपाउनुको प्रमुख कारण बनेको बिज्ञहरु बताउँछन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा सन्दीपले गरेको प्रदर्शनलाई संस्थागत गर्दै नेपाल सरकारले क्रिकेटका पूर्वाधारमा लगानी गरेर मुलुक भित्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरु गर्नु अत्यावश्यक बनेको छ ।

 

थप सामाग्री