पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एमाले माओवादी एकता : निर्णायक वार्ता आज

image

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबारे आज निर्णायक वार्ता हुने भएको छ । उक्त वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा छलफल हुनेछ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैले आज केन्द्रीय एकता संयोजन समितिमा निर्णायक वार्ता हुने बताउनुएको छ । वार्तामा सहमति जुटे वैशाख ९ गते पार्टी एकता हुनेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको एमाले स्थायी कमिटी बैठकले वैशाख ९ गते नै एकतालाई अन्तिम रुप दिन गरी छलफल अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले बैठकमा एकताका विषयमा टुंगो लगाउने गरी आज छलफल हुने जानकारी गराउनुभयो । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पारेर एकता गर्नुपर्ने कार्यदलको सुझाव थियो ।

एमालेले वैशाख ६ गते पोलिटब्युरो र वैशाख ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । माओवादी केन्द्रले पनि आज बिहान शीर्ष नेताहरुबीच छलफल गर्दैछ । हिजो एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाबीच प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घन्टासम्म एक्लाएक्लै छलफल भएको थियो ।