पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नयाँ बर्षमा : नयाँ संकल्प

ज्ञानेन्द्र निरौला \ झुलन रेग्मी

image

नयाँ वर्षको सुरुवातलाई सामाजिक व्यक्तिहरुले नयाँ कामको थालनीको रुपमा लिएका हुन्छन् । खासगरी राजनीतिक तथा सामाजिक जिम्मेवारीमा रहेका व्यक्तित्वहरुले आफूलाई मात्र होइन, समग्र समाज रुपान्तरणकै लागि नयाँ–नयाँ सङ्कल्प गरेको पाइन्छ । आजदेखि सुरु भएको नयाँ वर्ष २०७५ सालमा झापाका विभिन्न सामाजिक तथा राजनीतिक अगुवाहरुले पनि नयाँ वर्षका लागि व्यक्तिगत अनि सामाजिक रुपमा विभिन्न सङ्कल्प गरेका छन् । 
लोकतन्त्र पोस्ट दैनिकले ‘तपाई नयाँ वर्षमा के कस्तो सङ्कल्प लिएर अघि बढ्नु भएको छ’ भन्ने प्रश्नमा उनीहरुले भिन्न–भिन्न सङ्कल्प गरेका प्रतिव्रिmया दिएका छन् ।
प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकीको नयाँ वर्षको सङ्कल्प सबैका लागि प्रेरणादायक छ । सांसद बुढाथोकीले वैशाख १ गतेदेखि नै हप्ताको एक दिन खेतबारीमा गएर श्रम गर्ने सङ्कल्प गरेका छन् ।
सांसद बुढाथोकीले भने, ‘आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि उत्पादनमा जोड दिनुपर्छ । त्यसैले मैले समय मिलाएर हप्ताको एक दिन आफ्नो खेतबारीमा श्रम गर्नेछु ।’ त्यस्तै, राज्यको स्रोत र साधनको उपयोगका लागि जनमुखी नीति निर्माणमा क्रियाशील हुने उनी बताउँछन् ।
झापाको मुखियाको रुपमा नेतृत्व सम्हालेका जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले आजदेखि व्यक्तिगत तथा संस्थागत रुपमा केही नयाँ काम गर्ने योजना सुनाए । उनले शारीरिक स्वास्थ्यका लागि बैशाख १ गते बिहानदेखि नियमित व्यायाम गर्ने बताए । 
उनले भने, ‘शरीर स्वस्थ राख्न नियमित व्यायाम गर्नेछु । साथै, बौद्धिक क्षमता विकासका लागि पनि कम्तिमा हरेक महिना एउटा पुस्तक पढिसक्नेछु ।’
व्यक्तिगतसँगै संस्थागत योजना पनि नयाँ वर्षका लागि जिसस प्रमुख पोर्तेलले अघि सारेका छन् । ‘अहिलेसम्म जिसस झापाको काम योजनाबद्ध हुन सकिरहेको छैन, जसका कारण सोचे अनुसारको नतिजा प्राप्त हुन सकेको छैन,’ उनले भने, ‘नयाँ वर्षको नयाँ काममा योजना र समय मिलाएर अघि बढ्नेछु ।’
मेचीनगरका ‘नगर पिता’ विमल आचार्य पनि नयाँ वर्षमा नयाँ सोचका साथ अघि बढ्ने सङ्कल्प गर्छन् । उनले फरक–फरक विचार भएकाहरुलाई एकैथलोमा ल्याएर नगरको सम्बृद्धिमा समाहित गर्ने प्रयत्न आजैबाट सुरु गर्ने बताए ।
उनले भने, ‘बाटो, बिजुली र ढल निकाससँगै शिक्षामा विशेष कार्यक्रम सञ्चालन गरेर सम्बृद्ध मेचीनगर निर्माणमा लाग्नेछौँ ।’ धुलोरहित मेचीनगर बनाउने यो वर्षको सङ्कल्प रहेको आचार्यको भनाइ छ ।
मेचीनगरकी उपप्रमुख मीना उप्रेतीको योजना भने अलिक फरक रहेको छ । उनले नगरका सामुदायिक विद्यालयलाई नगरबासीको भरोसायोग्य बनाउने यो वर्ष सङ्कल्प गरेको सुनाइन् । उनले भनिन्, ‘विद्यालयको व्यवस्थापन र शैक्षिक गुणस्तर सुधार गर्दै नगरबासीको पहिलो रोजाइमा सामुदायिक विद्यालय बनाउनेछौँ ।’
उपप्रमुख उप्रेतीका अनुसार नगरका निजी विद्यालयको व्यवस्थापनमा समेत विशेष जोड दिइनेछ । न्याय सम्पादनका हिसाबले मेचीनगर देशभरकै उत्कृष्ट स्थानीय तह बनाउने उपप्रमुख उप्रेतीको यो वर्षको अर्को मुख्य सङ्कल्प रहेको छ ।
काङ्ग्रेस नेता तथा मेची अञ्चल अस्पताल समितिका अध्यक्ष राम कट्टेलले यो वर्ष अञ्चल अस्पताललाई मेडिकल कलेज बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताए । उनले भने, ‘पूर्वेली जनताको आशा र भरोसाको रुपमा रहेको मेची अञ्चल अस्पताललाई मेडिकल कलेज बनाउने प्रक्रिया सुरु भएको छ । त्यसका लागि भवन निर्माणको काम समेत सुरु भइसकेको हुनाले यो वर्ष अस्पताललाई मेडिकल कलेज बनाउने नै मेरो मुख्य सङ्कल्प हो ।’
माओवादी केन्द्रका जिल्ला संयोजक विजय साम्पाङले मुलुकको सम्बृद्धि र विकासका निमित्त काममा लाग्ने अठोट गरेका छन् । उनले हरेक नागरिकलाई रोजगारीको सुनिश्चतता गर्न योजनाबद्ध रुपमा कार्यक्रम ल्याउन पहल गर्ने बताए । नेता साम्पाङ अराजकताबाट मुक्त गराई झापालाई अग्रणी जिल्लाका रुपमा उभ्याउने सङ्कल्प गरेको बताउँछन् ।
नेपाली काङ्ग्रेस मेचीनगरका सभापति इन्द्रबहादुर बुढाथोकी नयाँ वर्षमा पार्टि सङ्गठनलाई थप चुस्तदुरुस्त बनाउने बताउँछन् । पार्टीको नगर नेतृत्व भएकाले आफ्नो व्यक्तिगत सङ्कल्प भन्दा पनि पार्टी सङ्गठनको कामलाई नै आफुले आत्मसाथ गरेको बुढाथोकी बताउँछन् । उनका अनुसार नयाँ वर्षको सुरुवातसँगै पार्टी सङ्गठनलाई नयाँ उचाइबाट अगाडि बढाउनेछु ।
जेष्ठ नागरिक समाज मेचीनगरका अध्यक्ष तथा सञ्चार उद्यमी कृष्णप्रसाद उप्रेती यो वर्ष आफुले जेष्ठ नागरिक र साहित्यमा नयाँ काम गर्ने योजना बुनेको बताउँछन् । उनले भने, ‘यो वर्ष जेष्ठ नगारिकहरुले शान्त र सम्मानपूर्वक बाँच्न पाउने अधिकारका लागि राज्यसँग थप अधिकारका निमित्त लड्नेछु ।’ त्यस्तै, २०७५ सालमा नै काँकरभिट्टामा भानु पुस्तकालय स्थापना गर्ने आफ्नो लक्ष्य रहेको उनी बताउँछन् ।
निजी क्षेत्रको नेतृत्वदायी संस्था नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष नरेन्द्रकुमार खड्काले आफ्नो व्यक्तिगत भन्दा पनि नयाँ वर्षमा व्यावसायिक योजना अघि सारेका छन् । उनी भन्छन्, ‘कृषि उत्पादनलाई विश्वबजारमा पुर्याउन केन्द्रीत हुनेछु ।’ उनका अनुसार नेपालको अदुवा अहिले बङ्गलादेश निर्यात भइरहेको र आगामी दिनमा अदुवा इटाली र जापानको बजारसम्म पुर्याउने योजना छ ।
मेचीनगर लेडी जेसीजका अध्यक्ष सुनिता पनेरु गएको वर्ष अधुरा रहेका कामहरु नयाँ बर्षमा पूरा गर्ने लक्ष्य रहेको बताउछिन् । सकारात्मक सोचका साथ लेडी जेसीजलाई नेपालकै उत्कृष्ट जेसीज शाखा बनाउने उनको सङ्कल्प छ । जेसी पनेरुले आफुमा रहेको कमजोरी सुधारेर अघि बढ्ने प्रतिज्ञा पनि गरेकी छन् ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले नयाँ वर्षमा झापालाई राष्ट्रिय खेलाडी उत्पादन गर्ने उर्वरभूमिको रुपमा विकास गर्ने योजना सुनाए । उनले खेलकुद क्षेत्रमा नै रहेर खेलाडीको जीवन चल्ने वातावरण बनाउन आफु यो वर्ष लागि पर्ने सुनाए ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी टङ्कप्रसाद भट्टराई विगत वर्षझैँ २०७५ सालमा पनि जनताको सुरक्षालाई नै पहिलो प्राथमिकता दिने बताउँछन् । जनताका लागि शान्ति र अमनचयन स्थापित गर्नु नै नयाँ वर्षको सङ्कल्प रहेको भट्टराईले बताए ।
दश वर्षदेखि आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको काँकरभिट्टास्थित मेची नेत्रालयका मेडिकल डाइरेक्टर डा. शरदचन्द्रप्रकाश राईले नयाँ वर्षमा अहिलेसम्म गरिरहेको भन्दा अलिक नयाँ ढङ्गबाट सामाजिक सेवाको क्षेत्रमा क्रियाशील हुने बताए । अत्याधुनिक प्रविधियुक्त आँखा उपचार सेवा सञ्चालन गर्नु आफ्नो लक्ष्य रहेको डा. राईले सुनाए ।
कुनै नेपालीले अन्धोपनका कारण जीवन बाँच्न नपरोस् भन्नका लागि दुर्गाचन्द्र मेमोरियल ट्रस्टमार्फत आँखा दानको सेवा र आँखा प्रत्यारोपण कार्यलाई नयाँ वर्षमा थप प्रभावकारी बनाउने डा. राईको सङ्कल्प छ ।

‘मदिरारहित जेसीज बनाउँछु’
युवाहरुको आकर्षक संस्था मध्ये जेसीज अग्रणी संस्था हो । ४० वर्षमुनिका युवालाई मात्र समेट्ने गरीको जेसीजको आफ्नै नीति छ । तर, जेसीजका कार्यक्रमले यो संस्थालाई कहिले काँही विवादित बनाउने पनि गरेको छ ।
खासगरी कार्यक्रम स्थलमा नै खुल्लारुपमा मदिराको प्रवेशले जेसीज आलोचित हुने गरेको छ । तर, धुुलावारी जेसीजका अध्यक्ष नारायण खनालले नयाँ वर्षमा जेसीजलाई नयाँ सङ्कल्पका साथ अगाडि बढाउने योजना बनाएका छन् ।
अध्यक्ष खनालले धुलावारी जेसीजलाई मदिरामुक्त जेसीज बनाउने सङ्कल्प लिएको बताउँछन् । विगतदेखिको परम्परालाई तोड्न केही अप्ठ्यारो परे पनि आफ्नो अभियानका कारण केही सदस्यले मदिरा सेवन छोडिसकेको खनालले दाबी गरे ।
त्यसो त जेसीज भन्ने बित्तिकै ‘मदिरामा मस्त’ भन्ने बुझाइ भएकाले बिरोध जनाए पनि आफुले मदिरामुक्त जेसीज अभियानलाई सफल बनाएरै छाड्ने अध्यक्ष खनालको नयाँ वर्षको सङ्कल्प रहेको छ ।

लोकतन्त्र पोष्ट दैनिकमा समेत प्रकाशित ।

थप सामाग्री