पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

छिन्ताङ काण्डमा मारिएका १६ जनालाइ शहीद घोषणा

प्रदेश प्रमुख र अस्थायी राजधानी भने तोकिएन

image

तात्कालीन पञ्चायत व्यवस्थाको समयमा छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सरकारले शहीद घोषणा गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद बैठक १६ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

सूर्यबहादुर थापा प्रधानमन्त्री रहेका बेला २०३६ साल कात्तिक २७ मा धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बहानामा प्रहरीले गोली चलाउँदा मारिएका १६ जनालाई शहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । यसैगरी सरकारले लाइफ स्टक कार्यक्रमका लागि विश्व बैंकबाट आठ अर्ब सहयोग स्वीकार्ने निर्णय पनि गरेको छ । यसैबिच प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने निर्णय भने आज पनि भएन । प्रदेश प्रमुख र अस्थायी मुकाम बारे छलफल भएपनि नतोकिएको सञ्चारमन्त्री बस्नेतले जानकारी दिनुभयो । यस्तै, नेपाली सेनाका उपरथी गौरव तन्डुललाई रथीमा बढुवा गरिएको छ ।  यसैगरी प्राविधिक महासेनानी गेहेन्द्रलाल महर्जनलाई प्राविधिक सहायक रथीमा पदोन्नती र पदस्थापन गर्ने निर्णय पनि गरिएको छ । महेन्द्रनाथ उपाध्यायलाई नेपाल न्याय सेवाको विशिष्ठ श्रेणीमा बढुवा गर्दै पदस्थापन गरिएको छ भने पुनरावेदन समितिको अध्यक्षमा हेमराज पन्तलाई नियुक्त गरिएको छ ।