पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मेचीनगरको कुल बजेट १ अर्ब ३२ लाख, प्रथम नगरसभा समपन्न

image

प्रथम नगर सभाबाट पारित निर्णयहरू पत्रकारलाई जानकारी गराउदै मेचीनगरका प्रमुख बिमल आचार्य ।

काकडभिट्टा । 
आर्थिक बर्ष २०७४।७५ का लागि १ अर्ब ३२ लाखको बजेट पास गर्दै मेचीनगर नगपालिकाको प्रथम नगरसभा आज सम्पन्न भएको छ । २ वटा महत्वपुर्ण विधेयक पारित गर्दै काकडभिट्टा खानेपानीको सभाहलमा हिजो बाट सुरु भएको नगरसभा सम्पन्न भएको हो । विनियोजन विधेयक र आर्थिक विधेयक नगरसभाले सर्वसम्मत पारित गर्दे “मेचीनगर नगरपालिकाको विनियोजन ऐन २०७४” र “आर्थिक ऐन, २०७४” का रुपमा खडा गरेको नगरप्रमुख विमल आचार्यले बताउनुभयो । 

स्थानीय तह निर्वाचन सम्पन्न भएको ७ महिना पश्चात बसेको नगरसभाले पास गरेको १ अर्ब ३२ लाखको बजेटको एक तिहाई हाराहारीको रकम भने पेश्कीको रुपमा खर्च भइसकेको नगरप्रमुख आचार्यले बताउनुभएको छ । उँहाले बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर भित्र विशेषत ३ वटा ठुला परियोजना अगाडी बढाउने बताउदै त्यसको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउने कार्य अगाडी बढेको बताउनुभएको छ ।

नगरसभाले नगरस्तरीय कार्यक्रमका लागि चालु खर्च तर्फ ११ करोड ७० लाख ९८ हजार २ सय ६९ रुपैयाँ र पूँजीगत खर्च तर्फ २६ करोड ६५ लाख २२ हजार ७ सय ३१ रुपैयाँ गरी ३८ करोड ३६ लाख २१ हजार विनियोजन गरेको छ । 

त्यसैगरी वडा स्तरीय कार्यक्रमका लागि १७ करोड २५ लाख रुपैया विनियोजन गरिएको छ । त्यसैगरी विषयगत शशर्त अनुदान तर्फ १८ करोड ४० लाख ७९ हजार रुपैयाँ, ऋणको सावा व्याज भुक्तानी शिर्षकमा १३ करोड रुपैयाँ र सामाजिक सूरक्षा भत्ताका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको मेचीनगर नगरपालिकाको आर्थिक बर्ष ०७४।७५ को बजेट, नीति तथा कार्यक्रममा जनाइएको छ । 

नगरपालिकाले आर्थिक बर्ष २०७४÷७५ मा आन्तरिक स्रोतबाट ४ करोड ५६ लाख २७ हजार ३ सय १६ रुपैयाँ ५१ पैसा आम्दानी गर्ने प्रक्षेपण गरिएको छ भने बाह्य स्रोतबाट ९३ करोड ६८ लाख ६० हजार ७ सय ४० रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ । 

नगरपालिकाले आर्थिक बर्ष २०७३।७४ मा आन्तरिक स्रोतबाट ३ करोड ८० लाख २७ हजार २ सय २३ रुपैयाँ र बाह्य स्रोतबाट २८ करोड ५७ लाख ९५ हजार ८ सय ९९ रुपैयाँ आम्दानी गरेको थियो । 

नगरसभाले कार्यसम्पादनको सहजताका लागि ६ वटा विषयगत समिति निर्माण गर्नुका साथै २२ वटा निर्णयहरु पास गरेको उपप्रमुख मिना उप्रेतीले जानकारी गराउनुभयो । 

नगरबासीको समग्र आर्थिक विकास, सुशासन र समृद्धिको चाहनालाई परिपूर्ति गर्न सभाले विभिन्न ६ वटा नीति अंगिकार गरेको छ । जसमा सार्वजनिक सेवा तथा क्षमता विकास सम्बन्धि नीति, पूर्वाधार विकास सम्बन्धि नीति, वित्तिय व्यवस्थापन, स्रोत परिचालन र आर्थिक विकास सम्बन्धि नीति, वातावरण तथा विपद व्यवस्थापन सम्बन्धि नीति, सामाजिक विकास सम्बन्धि नीति र विधेयक सम्बन्धि नीति रहेका छन ।

नगरसभाले जनप्रतिनिधिको पारिश्रमिक समेत तोकेको छ । तोकिएको पारिश्रमिक अनुसार मासिक रुपमा नगरप्रमुखले ४० हजार १ सय ५०, उपप्रमुखले ३५ हजार, कार्यपालिका सदस्य तथा वडाध्यक्षले २३ हजार ५ सय र वडा सदस्यले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन । कार्यक्रममा बोल्दै नगरप्रमुख आचार्यले नगरका सबै क्षेत्रको समानुपातिक विकास गर्ने कुरामा दुइमत नरहने बताउनुभएको छ ।

बजेट नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सुवेदी, कार्यपालिका सदस्य तथा वडाध्यक्षहरु, शिक्षा प्रमुख उद्धव विष्ट, वडासदस्य, सञ्चारकर्मी लगायतको सहभागित रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका सामुदायीक विकास अधिकृत अनन्त वस्तीले गर्नुभएको थियो ।